काठमाडौँ । नेपालमा कृषि उत्पादनमा प्रयोग हुने विषादीको आयात पछिल्लो १० वर्षमा चार गुणाले बढेको छ ।
प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार २०७०/७१ मा करिब ४ लाख ५४ हजार किलो विषादी आयात गरेको नेपालले २०८०/८१ सम्म आईपुग्दा यो परिमाण बढेर १६ लाख ६४ किलो नाघेको छ ।
विषेशगरी कीटनाशक, फङ्गिसाइड र झारनाशकको आयात बढेको छ । कृषि औद्योगिकरणको नाममा विषादी अत्यधिक प्रयोग बढ्दै यसले वातावरण, कानव स्वास्थय र माटोको दीर्घकालीन उर्वराशक्ति मै गम्भीर असर पुर्याउने खतरा देखिएको कृषि विज्ञले बताएका छन् ।
महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले समेत नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६ दशमलब ८३ र आयातको परिमाण ४६ दशमलब ३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु हो । महालेखा परीक्षक कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा विषादीको आयात ४६ दशमलब ३ प्रतिशतले बढेको छ ।
सरकारले विषादीको नियन्त्रण र निगरानीका लागि केहि नीतिगत प्रयास गरेको भए पनि त्यसको प्रभाव न्यन देखिएको छ । सीआईएनसँग कुरा गर्दै केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले दक्ष कर्मचारी अभाव रहेको बताउनुभयो । केन्द्रका अनुसार हाल नेपालमा २६ वटा विषादी प्रतिबन्धित छ । रातो चिन्ह भएको अत्यधिक विषालु, पहेँलो चिन्ह भएको विषालु, निलो चिन्ह भएको मध्यम विषालु र हरियो चिन्ह भएको सामान्य विषादी हो ।
प्रतिबन्धित विषादीहरू क्लोरोडेन, डीडीटी, डाइएल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, वीएचसी।, लिन्डेन, फस्फामिडन, आर्गानो मर्करी कम्पाउन्ड, मिथाइल पाराथियन, मोनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कावोफ्युरान, कार्बारिल, डाइक्लोरोभस, ट्राइजोफस, बेनोमिल, कार्बोसल्फान, डाइकोफल, एल्मोनियम फस्फाइड ३ ग्राम टेबलेट जस्ता रहेका छन् ।
जैविक विकल्पतर्फको रुचि भने निकै कमजोर देखिन्छ। जैविक विषादी अर्थात बायोपेस्टिसाईडको आयात भने उलेख्य मात्रामा बढेको छैन। बायोपेस्टिसाइडको आयात २०७०/७१ मा ७१ किलो आयात भएको थियो भने २०८०/८१ मा पनि मात्र ३६१ किलो पुगेको छ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२