काठमाडौं। राष्ट्रिय दलित पत्रकार संघ नेपालले सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा कार्यरत पत्रकार सुशिला श्रेष्ठसहित ५ जनालाई सम्मान गरेको छ।
सामाजिक न्याय, समानता र दलित समुदायका मुद्दालाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको योगदानको कदर गर्दै सीआईएनकर्मी श्रेष्ठलाई अग्रणी सम्मान प्रदान गरिएको हो।
संघले श्रेष्ठसहित पूर्व मन्त्री तथा लेखक मोदनाथ प्रश्रीत, दलित अधिकारकर्मी पदम सुन्दास, कमला हेम्च्युरी र पत्रकार ज्ञानेन्द्र महतलाई सम्मान गरेको हो ।
उहाँहरुलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान पत्र प्रदान गर्नुभएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक गोपाल बराइलीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार संघको दोस्रो महाधिवेशनमा सो सम्मान तथा पुरस्कार वितरण गरेको हो।
संघले १० हजार राशीको विक्रम परियार स्मृति पत्रकारिता पुरस्कारबाट चितवनकिकी दृप्ती बिक, १० हजार राशीको देबब्रत परियार स्मृति पुरस्कार उत्सव रसाइली, १० हजार राशीकै राममाया च्यामे पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति बिष्णु निष्ठुरीलाई सम्मान गरेको छ ।

प्रकाश चित्रकार कुशल संगठन सम्मानबाट चिन्ता परियार, १० हजार राशिको राम शोभी स्मृति पुरस्कारबाट बाराका सिकेन्द्र पासवान, १० हजार राशिको पुतली आमा स्मृति पत्रकारीता पुरस्कार सुनसरीका पिबि दियालीलाई सम्मान गरेको छ ।
संघले झापाका चिरञ्जीवी घिमिरे, डडेल्धुराका बकरण ताम्राकार र रुपन्देहीका अम्बिका परियार पर्शु सवरी पुरस्कार प्रदान गरेको छ।
१५ हजार राशिको टिआर बिश्वकर्मा स्मृति पुरस्कारबाट कान्तिपुरका जनक सापकोटा, रुपन्देहीका बिनोद परियार र रामप्रसाद आचार्य तथा १० हजार राशिको दिल बहादुर रम्तेल स्मृति पुरस्कारबाट कर्ण बिकलाई सम्मान गरिएको थियो ।
आजदेखि सुरु सो महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार, चन्द्रागिरी नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरि, जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर बिकलगायतले बोल्नु भएको थियो ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३