काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पूर्वाधार विस्तार र मर्मतलाई प्राथमिकतामा राख्दै अर्बौं रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिनुभयो । सरकारले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरी खाल्डामुक्त बनाउने लक्ष्य पनि लिएको छ ।
यस्तै, देशकै प्रमुख पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सरकारले राजमार्ग स्तरोन्नति, विस्तार र यातायात सहज बनाउन यो रकम खर्च गर्ने जनाएको छ ।
काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माणका लागि भने १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ। सरकारले द्रुतमार्गअन्तर्गत ४० वटा पुल र ५ दशमलव ४ किलोमिटर सुरुङ निर्माण गरिने जनाएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइरहेको छ ।
सरकारले सडक सञ्जाल सुधारसँगै यातायातलाई सुरक्षित, व्यवस्थित र छिटो बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३