काठमाडाैँ। चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा बेदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्या ११ सय ६० पुगेको छ ।
यो संख्या गता वर्षको सोहि अवधिको तुलनामा १ दशमलब ४ प्रतिशतले बढि हो । पोहोर यहि समयमा ११ सय ४४ जनाको मृत्यु भएको थियो । यस वर्ष पोहोरको तुलनामा मृतकको संख्या १६ जनाले बढी हो ।
बैदेशिक रोजगार बोर्डकाअनुसार बोर्डले ३७१ जनाको शव विदेशबाट झिकाउने काम गरेको छ भने ७८९ जनाको शव ढुवानी गरेको छ। कुल मृत्यु संख्यामा हेर्दा करिब ३२ प्रतिशत शव झिकाउने र ६८ प्रतिशत शव ढुवानीमार्फत नेपाल ल्याइएको छ।
बोर्डले चैत महिनामा मात्रै ५९ जनाको शव झिकाइएको र १९९ जनाको शव ढुवानी गरिएको जनाएको छ । एक महिनामै २५८ जनाको मृत्यु हुनुले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको कार्यस्थल सुरक्षा कत्तिको प्रभावकारी छ? दोस्रो, स्वास्थ्य परीक्षण, बीमा, र कामदार सुरक्षासम्बन्धी नीतिहरू व्यवहारमा कति लागू भइरहेका छन् ? भन्ने प्श्न उठाएको बैदेशिक रोजगार विज्ञहरु बताउछन् ।
बोर्डकाअनुसार मृत्युका प्रमुख कारणहरूमा कार्यस्थल दुर्घटना, हृदयघात, सडक दुर्घटना, तथा आत्महत्या जस्ता घटनाहरू रहेका छन्। विशेषगरी खाडी मुलुकहरूमा चर्को गर्मि, लामो समयसम्म काम घण्टा, र कमजोर श्रम अधिकार कार्यान्वयनका कारण जोखिम अझ बढ्ने गरेको विज्ञहरू बताउँछन्।
यस किसिमको जोखिम घटाउन बैदेशिक रोजगारीमा जानु पहिले स्वास्थ्य र सीप परीक्षणलाई कडाइका साथ लागू गर्ने, गन्तव्य मुलुकसँग श्रम सम्झौता अझ कडा बनाउने, कार्यस्थल सुरक्षा अनुगमन बढाउने, आपतकालीन उद्धार र बीमा दाबी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने र मानसिक स्वास्थ्य सहयोग प्रणालीलाई पनि प्राथमिकतामा राख्नुपर्ने पौरखी नेपालका संस्थापक मन्जु गुरुङले सीआईएनसँग बताउनुभयो।
प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३