पछिल्लो एक महिनामा देशभर मौसमी विपद्का घटना साढे २० प्रतिशतले बढे पनि मानवीय क्षति भने घटेको देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनामा विपद्का ९३० वटा घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने २७९ जना घाइते भएका छन् ।
यस्तै, ३२ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा ७७२ वटा विपद्का घटना भएका थिए । जसमा ४८ जनाको मृत्यु भएको थियो भने १९३ जना घाइते भएका थिए।
तथ्यांकको तुलना गर्दा पोहोरको तुलनामा विपद्का घटना १५८ वटाले बढेका छन्, जुन २० दशमलब ५ प्रतिशतले बढि हो। तर मृत्यु हुनेको संख्या ८ जनाले घटेको छ, अर्थात् १६ दशमलब ७ प्रतिशत कमी आएको छ। कारणबारे बताउनु हुदै प्राधिकरणका प्रवक्ता शान्ती महतले पुर्व सुचना प्रणाली प्रभावकारी भएका कारण क्षति घटेको बताउनुभयो ।
प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर ११ जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट ९ जना, आगलागीमा ५ जना, हावाहुरीका कारण ४ जना र भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। पोहोर सोहि अवधिका सर्पले टोकेर १९ जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण ७ जना, चट्याङ्कका कारण ७ जना, आगलागीमा परेर ७ जना र लेक लागेर ६ जनाको मृत्यु भएको थियो । यस्तै जनावरको आक्रमणका कारण २ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३