काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतको आजको पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था तथा प्रतिबद्धता कायम रहेको स्पष्ट पार्दै संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर रहन सबैलाई आग्रहसमेत गरेको छ।
पूर्ण बैठकले सार्वजनिक रूपमा आएका विषयहरूको सम्बन्धमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष तथा स्वतन्त्र ढङ्गबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
इनम सापकोटा भनिएका एक जना विचौलियासँग केही न्यायाधीशको संवाद भएका खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसले तरङ्ग ल्याएको छ ।
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा कानुनबमोजिम आवश्यक छानबिन तथा अनुसन्धान गर्ने कार्यमा सम्बन्धित निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने र त्यसमा सहयोग गर्न सर्वोच्च अदालतले प्रतिबद्धता जनाएको छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने कुरामा ध्यान दिन पनि बैठकले आग्रह गरेको छ।
छानबिनबाट निष्कर्ष प्राप्त नहुँदै पूर्वानुमानका आधारमा समाचार प्रकाशन तथा प्रसारण गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार सम्प्रेषण नगर्न सम्बन्धित सबैमा सर्वोच्च अदालतले अनुरोध गरेको छ।
प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई सबै अदालतमा कार्यरत न्यायिक कर्मचारी तथा पदाधिकारीलाई न्यायिक कार्यमा सदाझैँ सक्रिय रहन पूर्ण बैठकले आग्रह गरेको सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३