सल्यान । सल्यानमा मिचाहा प्रजातिको झार तीव्र रूपमा फैलिँदै गएपछि यसको नियनत्रणका लागि अभियान चलाइएको छ । मिचाहा वनस्पति खेतीयोग्य जमिनदेखि वन क्षेत्रमा फैलिएपछि यसको विस्थापन तथा व्यवस्थापनको अभियान सुरु गरिएको हो ।
जिल्लाभर फैलिएका मिचाहा प्रजाति नियन्त्रण, विस्थापन तथा व्यवस्थापन अभियानमा स्थानीयदेखि सरोकारवाला निकायसम्म जुटेका छन् ।
नेपालमा मिचाहा प्रजातिको अतिक्रमणबारे चर्चा हुन थालेको दुई दशक भन्दा बढि भए पनि यसबारे व्यवस्थित अध्ययन तथा व्यवस्थापन हुन सकेको छैन ।
पछिल्लो समय सल्यानका किसानले मिचाहा प्रजातिका कारण माटोमा प्रतिकुल असर, स्थानीय उत्पादनमा कमी र पारिस्थितिकीय प्रणालीमा अवरोध भएको कपुरकोट ३ का किसान मीनकुमारी बुढाथोकीको भनाइ छ ।
वस्तुभाउले पनि नखाने, तरकारी लगाउने खेतबारीमा फैलिएका कारण तरकारी उत्पादनमा समेत कमी आउन थालेको छ । पहिले घाँस प्रशस्त हुने ठाउँमा अहिले वनमारा मात्र देखिन्छ ।

सेतो गन्धे, पार्थेनियम, वनमारा लगायतका झारले वनपैदावार मात्र नभइ वन्यजन्तुको वासस्थानसमेत कब्जा गर्न थालेपछि यसको नियन्त्रण, विस्थापन तथा व्यवस्थापन अभियानमा स्थानीयदेखि सरोकारवाला निकायसम्म जुटेका छन् ।
यसले केही हदमा नियन्त्रत्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ, केन्द्रीय सदस्य घनश्याम शर्मा बताउनुहुन्छ ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकका अनुसार सल्यानमा झार पार्थेनियम, माइग्रेनिया, कालो र सेतो वनमारा, बनफाँडा, गन्धे झार, काँडे लुडें, सत्यनाशी लगायत दर्जनभन्दा बढी मिचाहा प्रजाति बढ्दै गएका छन् ।

समयमै नियन्त्रण नगरे यसको असर विकराल हुने उहाँकव् भनाइ छ । कपुरकोट गाउँपालिकाले चालु आर्थिक वर्षलाई “हरित वर्ष” घोषणा गर्दै मिचाहा वनस्पति नियन्त्रणलाई प्राथमिकतामा राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत, दिनेश पौडेलले बताउनुभयो ।
सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार प्रजातिको प्रकृति हेरी केहीलाई विस्थापन र केहीलाई व्यवस्थापन गर्ने काम भइरहेको छ ।
नेपालभर अहिलेसम्म करिब १ सय ८२ देखि १ सय ८३ विदेशी फूल प्रजाति फेला परेका छन्, जसमध्ये २७ देखि २८ प्रजातिलाई मिचाहा प्रजातिको रूपमा चिनिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२