काठमाडौँ । यो वर्षको हिउँदमा अरु बेलाको भन्दा धेरै न्यानो हुने भएको छ । यस वर्षको हिउँदमा दिउँसो र राति, दुबै बेलाको तापक्रम पहिलेको तुलनामा बढ्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष हिउँद मौसममा पानी कम पर्ने छ । मङ्सिर १५ देखि फागुन १६ गतेसम्म देशका धेरै भूभागमा पानी कम पर्ने सम्भावना रहेको विभागले निकालेको सूचनामा उल्लेख छ ।
सुदूरपश्चिमका केही भाग, कर्णालीका दक्षिणी क्षेत्र, लुम्बिनीका पश्चिम, बाग्मतीका दक्षिण, मधेशका उत्तर र कोशीका मध्य तथा पूर्वी भागमा ५५ देखि ६५ प्रतिशत पानी कम पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता बीभूति पोखरेलले सीआईएनसँग बताउनुभयो ।
अन्य धेरै ठाउँमा पनि पानी पहिलेको तुलनामा कम नै पर्ने सम्भावना छ । तापक्रम भने अधिकांश ठाउँमा सामान्यभन्दा बढी रहनेछ । यसको मतलब, यो हिउँद पहिलेभन्दा न्यानो हुनेछ । विभागका मौसमविद्हरू भन्छन् यसको मतलब सबै दिन तातो नै हुन्छ भन्ने होइन ।
केहि स्थानमा रातको समयमा चिसो पनि ५५ देखि ६५ प्रतिशत बढि हुने सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२