काठमाडौँ । संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्।
पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, शिखण्डी पुस्तकका लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र एक बौद्ध गुरुले संयुक्त रूपमा गरे।
संविधानसभाको मानवअधिकार समितिकी सभापति डा.बिन्दा पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार संविधानमा समेट्न लामो छलफल भएको सम्झँदै संविधानमा ‘तेस्रो लिङ्ग’ वा ‘थर्ड जेन्डर’ लेख्ने कि ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ भन्ने विषयमा छलफल भएको र अन्ततः पछिल्लो शब्दावली प्रयोग गर्ने निष्कर्षमा पुगेको स्मरण गर्नुभयो ।
राष्ट्रिय सभा सदस्य रेनु चन्दले पुस्तकको आवरणले आफूमा जिज्ञासा उत्पन्न गरेको उल्लेख गर्दै आवरणमा रहेको कङ्काल र छालासहितको मानिसको आकृतिको प्रसङ्ग पुस्तक पढ्दै जाँदा खुल्दै जाने उल्लेख गर्नुभयो ।
पन्तले विवाद सिर्जना गर्न नभइ संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गर्दै चन्दले पश्चिमी लैङ्गिक ढाँचा सबै समाजका लैङ्गिक अनुभव बुझ्ने एक मात्र आधार नहुने तर्कसँग आफू सहमत रहेको धारणा राख्नुभयो ।
चन्दका अनुसार पुस्तकले समयक्रममा शब्दहरूको अर्थ कसरी संकुचित हुँदै जान्छ र त्यसले सामाजिक सोचमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले लिङ्गको वर्गीकरणलाई कालो र सेतो अर्थात् दुईवटा निश्चित श्रेणीमा मात्र सीमित गरेर बुझ्न नहुने बताउनुभयो ।
प्राकृतिक रूपमा जन्मिएको व्यक्तिले पाउनुपर्ने नैसर्गिक अधिकारबाट किन वञ्चित हुनुपर्ने भन्ने प्रश्न उठाउँदै उनले समाज र राज्यबाट प्राप्त हुने अधिकारमा विभेद हुन नहुने उहाँको भनाइ छ ।
पुस्तकबारे आफ्नो धारणा राख्दै पन्तले पूर्वीय दर्शन र परम्परामा तेस्रोलिङ्गी तथा लैङ्गिक विविधता भएका व्यक्तिलाई समाजका लागि उपयोगी, सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण रहेको विचार राख्नुभयो ।
पन्तले पूर्वीय दर्शनमा भने यस्ता व्यक्तिलाई प्राकृतिक रूपमा सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा बुझ्ने दृष्टिकोण रहेको उल्लेख गर्दै महिलासँग जोडिएका करुणा, बुद्धि र स्मरणशक्तिजस्ता गुणलाई पनि महत्त्व दिइएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३