दाङ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले काठमाडौं महानगर पालिकाको मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यालयमा टाँसेर आफूलाई राष्ट्रियताका पक्षमा प्रस्तुत गरेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) भारत भ्रमणको समयमा चुप लागेको आरोप लागाउनु भएको छ ।
प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले देशको कार्यकारी प्रमुखका हैसियतले दक्षिणको छिमेकी मुलुक भारतको दुई दिने भ्रमणका क्रममा सीमा क्षेत्रको विषयमा ठोस कुरा नहुनुले उहाँ (वालेन)को नक्कली राष्ट्रवाद उदाङ्गो भएको बताउनुभयो ।
‘ग्रेटर नेपालको नक्सा मेयर हुँदा कार्यालयमा टाँसेर बस्ने वालेनले प्रधानमन्त्री भएको वेला भारतको औपचारिक भ्रमणका क्रममा कम्तीमा मिचिएका सीमाका बारेमा छलफलको एजेण्डा बनाउनु हुन्छ भन्ने नेपालीहरुको ठूलो अपेक्षा थियो । त्यो पुरा हुन सकेन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालजस्तो देशका लागि गुमेको भूभाग फिर्ता ल्याउने विषय असम्भव नै हो तर सीमाना जोडिएका देशका कार्यकारी प्रमुख बीचको औपचारिक भेटका क्रममा त्यस विषयलाई भावनात्मक रुपमा खेल्ने कोसिस पनि नगर्नु ठूलो आश्चर्यजनक विषय हो ।’
पूर्वतिरबाट पश्चिम तिरबाट हवाई मार्ग हुदै जान पाउने आउन नपाएका हामी नेपालीका लागि पश्चिम तिरको एयर रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि यसको कार्यान्वयन पक्षलाई कुर्नुपर्ने महासचिव पोखरेलको भनाइ छ ।
नेपाल–भारत बीचको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसक्नुले प्रधानमन्त्रीको भ्रमणलाई सफल भएको मान्न नसकिने उहाँको दाबी छ ।
पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराएका पोखरेलले पञ्चायतमा भएको सहमती कार्यान्वयनमा नआएको दावी गर्दै थप्नुभयो , ‘प्रधानमन्त्रीले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रवेश गर्न सकेनन् । भ्रमणमा नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेत समेट्न नसक्नुले वर्तमान सरकार जनजीविकाका सवालप्रति अनुदार छ भन्ने पुष्टी मात्रै हुदैन् ।
महासचिव पोखरेलले विदेशी ऋणका विषयमा चर्को बिरोध गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले उक्त भ्रमबाट मुक्त भएको बताउनुभयो ।
‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि अहिले रास्वपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले नै गरेको छ ।’ पोखरेलले भन्नुभयो ।
प्रकाशित मिति:
मंगलबार, मंसिर ८, २०८३