काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी आज काठमाडौँमा सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा सुकेधारमा भएको कार्यक्रमको पहिलो शत्रको उद्घाटन प्रमुख अतिथि, पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो ‘महाविष्फोट’ शीर्षकको कविता वाचन गरेर गर्नुभएको थियो ।
उहाँले कुनै पनि साहित्यलाई युगीन चरित्रको आधारमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।
नेपालमा २०६२/६३ सालमा क्रान्ति नै भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो– "त्यतिखेर क्रान्ति भयो तर त्यो क्रान्ति कम्युनिस्ट पार्टीले गरेनन् । पुँजीवादी क्रान्ति भयो । त्यो नयाँ जनवादी क्रान्ति थिएन ।"
उहाँले अबको प्रगतिशील साहित्य सिर्जना गर्दा २०६२–६३ सालको परिवर्तनपछिको अवस्थालाई ख्याल गरिनुपर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले जेनजी आन्दोलनपछि अब राजनीतिक दलको नेतृत्वमा युवालाई समेट्नुपर्ने युगीन अवस्था आइपरेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख ललितविक्रम सिंह, विशिष्ट अतिथि कन्फ्युसियस सेन्टरका कोअर्डिनेटर क्यू वाङ मिङ, नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, रक्तिम सांस्कृतिक अभियानका प्रकाश थापामगर र जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी मल्लले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको दोस्रो शत्रमा विचारगोष्ठी भएको थियो । कार्यक्रममा पहिलो कार्यपत्र प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलको थियो । उहाँको कार्यपत्रको शीर्षक रहेको थियो– “प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा” । कार्यपत्रमाथि प्रगतिशील साहित्यकार सीता शर्माले टिप्पणी गर्नुभएको थियो ।
दोस्रो कार्यपत्र प्राध्यापक डा. विदुर चालिसेले “बुढानीलकण्ठ नगरपालिका– प्रगतिशील साहित्य” शीर्षकमा प्रस्तुत गर्नुभयो भने कार्यपत्रमाथि साहित्यकार नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नुभएको थियो ।
त्यस क्रममा जगत् वाशिष्ठ, गोपालकुमार मैनाली, वासुदेव अधिकारी, डा. फणिन्द्र निरौला, सुधा मैनाली, माधव प्रधान, डम्बर पहाडी (एलाक), प्रवीन जोशी, लोकबहादुर थापा, प्राडा जीवेन्द्रदेव गिरी र कृष्ण धारावासीले पूरक जिज्ञासा राख्नुभएको थियो ।
जिज्ञासाको बारेमा कार्यपत्र प्रस्तोता पोखरेल र चालिसेले सङ्क्षिप्त स्पष्टीकरण दिनुभएको थियो ।
सामना सांस्कृतिक परिवारका आरोह नेपाली र जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष नमुना शर्माले कार्यक्रममा गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३