काठमाडौँ । कवि निरञ्जना चन्द ‘निरू’ कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’ को एक कार्यक्रमका बीच काठमाडौँमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती, प्राध्यापक डा जीविन्द्रदेव गिरी, प्राध्यापक जगतप्रसाद उपाध्याय, प्राध्यापक डा हेमनाथ पौडेल, प्राध्यापक डा देवी नेपाल, कवि विमला तुम्खेवा लगायतले कृतिको विमोचन गरेका थिए ।
विमोचनपछि बोल्दै पूर्व कुलपति उप्रेतीले कवि चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहिराइको सशक्त प्रस्तुति भएको बताउनुभयो ।
२०७८ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमै चन्दको काव्य–क्षमताले आफूलाई गहिरो रूपमा प्रभावित पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “चन्दका कवितामा मार्मिकता छ, निख्खरता छ र पाठकको अन्तरमनलाई चिर्ने शक्ति छ।”
उहाँका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायको आवाजलाई काव्यात्मक ढङ्गले उठान गरेको छ ।
कार्यक्रममा प्राध्यापक डा गिरी, प्राध्यापक उपाध्याय, प्राध्यापक डा पौडेल, प्राध्यापक डा नेपाल तथा तुम्खेवाले कवि चन्दका कवितामा रहेका जीवनका उतार–चढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध आयामबारे चर्चा गरेका थिए ।
समारोहमा कवि चन्दले आप्नो कविता लेखन यात्राका बारेमा प्रकाश पार्दै सुझाव तथा सल्लाह र साथका लागि सबै अग्रजहरूलाई धन्यवाद दिनुभयो ।
कवि निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी सक्रिय र चर्चित समकालीन कवयित्री मानिनु हुन्छ ।
उहाँका यसअघि साइनो (२०७६), निरूको निरूपण (२०७७) कृति प्रकाशित छन् । पत्रपत्रिकामा फुटकर कविताका माध्यमबाट उहाँले पहिचान स्थापित गरिसक्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२