सल्यानको कपुरकोट गाउँपालिका ३ मूलपानीमा अवस्थित वनस्पति अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
केन्द्रको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, मौसमअनुसारका विभिन्न प्रजातिका पूmलहरू, चराचुरुङ्गीको चिरबिर तथा मधुर आवाज र शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
वनस्पति अनुसन्धान केन्द्र भित्र पर्ने मूलपानी वनस्पति उद्यान राप्ती लोकमार्ग अन्तर्गत कपुरकोटदेखि२.५ कि.मि उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको स्थापना २०५६ सालमा भएको हो । समुन्द्र सतहबाट १ हजार ४ सय २० मिटरको उचाईमा रहेको यस वनस्पति उद्यानले ५.७ हेक्टर क्षेत्रफल ओगटेको छ । स्थापना कालदेखि नै यस उद्यानले वनस्पतिको स्वस्थानीय र परस्थानीय संरक्षण गर्दै आईरहेको छ ।

मूलपानी वनस्पति उद्यानको वानस्पतिक अभिलेखको कुरा गर्दा हालसम्म १ सय ५६ वानस्पतिक परिवार, ४ सय ५ जातिका ५ सय ५१ प्रजातिहरूको लेखाजोखा भइसकेको छ र यो क्रम निरन्तर छ ।
ती मध्ये स्वस्थानीय २ सय ५७ प्रजाति र विदेशी शोभनीयसहित २ सय ९४ प्रजाति परस्थानीय बिरुवाहरू रहेका छन् । मूलपानी वनस्पति उद्यानमा संरक्षित कुल ५ सय ५१ प्रजातिमध्ये घाँस, पोथ्रा र रुखका आधारमा पोथ्रा प्रजातिको बाहुल्यता रहेको पाइन्छ, जुन २ सय ४८ प्रजाति छ ।
त्यसपछि क्रमशः रुख १ सय ३३, बुट्यान ९९, लहरा ३७, इपिफाइट ३४ प्रजाति रहेका छन् । समग्रमा एन्जियोस्पर्म (फूल फुल्ने बिरुवाहरू) ४ सय ९५, जिम्नोस्पर्म (कोणधारी बिरुवा) १९ प्रजाति र उन्यू ३७ प्रजाति रहेका छन् ।
ती मध्ये २ सय १ प्रजाति शोभनिय वनस्पतिको रुपमा संरक्षण गरिएको छ । ३४ प्रजातिहरू एभिन्यु रुखको रुपमा उपयोगी पाइएका छन् र १२ प्रजाति गार्डेनमा हेज बनाउन प्रयोग भइरहेका छन् भने ५२ प्रजाति विदेशी बिरुवाको रुपमा सूचीकृत छन् ।
सुनगाभा अथवा सुनाखरीसहित गार्डेन भित्रको क्षेत्रमा ६६ प्रजातिहरू दुर्लभ लोपन्मुख र साइटिसमा सूचीकृत वनस्पतिको रुपमा संरक्षित छन् ।
यसैगरी ८ प्रकारका धार्मिक र ६ प्रकारका मिचाहा प्रजातिहरू रहेका छन् भने २ सय ४५ प्रजाति औषधीय वनस्पति छन् । यस उद्यानमा रक गार्डेन (ढुङे बाटिका), फिजिक गार्डेन (जडीबुटी बाटिका), जलिय गार्डेन, ड्रिम गार्डेन, शैक्षिक गार्डेन, इथनोबोटानिकल गार्डेन, दुर्लभ लोपोन्मुख गार्डेन, ट्याक्सोनोमिकल फ्यामली गार्डेनजस्ता ८ वटा थेमाटिक युनिटहरू रहेका छन् र फर्न हाउस, क्याक्टस हाउस, अर्किड हाउस नामक तीनवटा जर्मप्लाज्म संरक्षित इकाइ रहेका छन् ।
कर्णाली प्रदेशका घुम्न लायक ठाउँमध्ये एक बनाउने लक्ष्यका साथ अघि बढेको मूलपानी वनस्पति उद्यान सल्यान जिल्लाका पर्यटकीय क्षेत्रमध्ये एक बन्दै गइरहेको छ । उद्यान वर्षभरी नै खुला रहन्छ र यस उद्यानमा कार्यालय समयमा जोसुकैले पनि सहजै निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
बर्सेनि झण्डै दश हजार आगन्तुकहरूले यस उद्यान भ्रमण गर्ने गरेका छन् । साथै उद्यान क्षेत्र विद्यार्थी, अनुसन्धानकर्ताका लागि शैक्षिक हवको रुपमा विकास भइरहेको छ ।

आगन्तुकहरू प्राय सल्यान, दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेतलगायतका जिल्लाहरूबाट आउने गर्छन् । केन्द्रले गत आर्थिक वर्षमा टिमुर, तेजपात, मलागिरी, काउलो, चिउरी, लप्सी, कुरिलो, रोजमेरीलगायतका करिब ३५ हजार विरुवा वितरणसमेत गरेको छ ।
विभिन्न विषयका विद्यार्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गर्दछन् । वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको सो केन्द्रका कार्यालय प्रमुख डाक्टर मित्र पाठकले बताउनुभयो ।

वनस्पति उद्यान, नमुना संरक्षण, जीवित बिरुवा र विभिन्न नमुना सूचना केन्द्रमार्फत विद्यार्थीलाई जानकारी उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।
यहाँ आउने विद्यार्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको शैक्षिक भ्रमणमा आएका नेरा मा.वि किमुचौरका प्रधानाध्यापक रमेश कुमार बुढाले बताउनुभयो ।
यहाँ विशेषगरी टिमुर, तेजपात, काउलो, अमला, हर्रो, वर्रो, सुगन्धकोकिला, सुगन्धवाल, कुरिलो, रिठ्ठा आदि जस्ता महत्वपूर्ण जडीबुटीहरु संरक्षित रहेका छन् भने ६० प्रकारका दुर्लभ लोपन्मुख वनस्पतिमा सुनाखरी सहित काकरसिङ्गी, टटेलो, लौठसल्ला, सतिसाल, विजयसाल, कलबल, गुन्सी चिराइतो आदि रहेका छन् ।
पछिल्लो समय टिकटक, गीत, विवाहको फोटो, भिडियो र चलचित्रका लागि छायाँङ्कन गर्नसमेत आउँछन् । अन्य आगन्तुकहरू यहाँ मनोरञ्जन गर्न र शहरीय जीवनको कोलाहालबाट शान्त वातावरणमा आराम गर्न, प्रकृित प्रेमीहरू यहाँबाट धेरै प्रजातिका फूल, वनस्पति, जडिबुटी, चराचुरङ्गी हेर्न र सुन्दर दृश्य हरियालीको आनन्द लिन आउँछन् ।
दुर्लभ वनस्पति ‘काँकर सिगें’ र ‘रुख उन्यु’
वनस्पति अनुसन्धान केन्द्र सल्यानको उद्यान भित्र दुर्लभ वनस्पति ‘काँकर सिगें’, ‘रुख उन्यु’ र सुनाखरीहरूकोे संरक्षण गरिएको छ । वैज्ञानिक नाम साइथिया स्पाइनुलोसा र स्थानीय रूपमा ‘रुख डउरे’ भनेर चिनिने रुख उन्यु वनस्पति कर्णाली प्रदेशको सल्यान र पश्चिम नेपालमा पहिलो पटक भेटिएपछि केन्द्रले खोजी तथा संरक्षणलाई तीव्रता दिएको हो ।
पहिले पूर्व र मध्य नेपालको ७ सय ५० देखि २००० मिटर उचाइमा पाइने भनिए पनि हालै कैलाली र अहिले सल्यानमा भेटिएपछि यो पश्चिम नेपालमासमेत फैलिएको पुष्टि भएको छ । रुख उन्युको परम्परागत औषधि, खाना र सजावटमा प्रयोग हुने गर्दछ ।
यस्तै केन्द्रमा काँकरसिङी पनि संरक्षण गरिएको छ । यो कमजारीलगायत दम खोकीमा प्रयोग हुने बताइएको छ । परम्परागत चिकित्सा प्रणालीमा यसको सेवन रक्तचाप घटाउन पनि उपयोगी मानिन्छ । यो दुर्लभ वनस्पतिको सूचीमा पर्छ । केन्द्रले स्थानीय र विदेशी बिरुवाहरू संरक्षण गर्ने साथै शैक्षिक र अनुसन्धान केन्द्रको रूपमा काम गरिरहेको छ।
मिचाहा वनस्पतिहरूको व्यवस्थापन
विशेष अभियान अन्तरर्गत बितेका ३ आर्थिक वर्षमा विषालु च्याउ सम्बन्धी सचेतना अभियान चलाएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जिल्लामा बढी फैलिएको काँडे बनमारा, जंगली सुर्यमुखी, कालो बनमारा र पार्थेनियम जस्ता मिचाहा वनस्पति नियन्त्रणमा अभियान चलाइरहेको छ ।
यसमा जिल्ला प्रशासन, स्थानीय सरकार, जिल्ला प्रहरी, वन कार्यालयलगायत सरोकारवालाको सहकार्य रहेको छ । यो अभियान पछिल्लो समय जिल्लाभर विस्तार हुँदै गइरहेको छ । यो आर्थिक वर्षमा किसानको सहजताको लागि केन्द्रले टिमुर टिप्ने औजारसमेत बनाउदै गरेको कार्यालय प्रमुख डा.पाठकले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२