काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूलाई केवल समस्याका दृष्टिले मात्र होइन, सम्भावना र आशाको दृष्टिले पनि प्रस्तुत गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले सञ्चार माध्यमले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई बिचरा पात्रको दृष्टिकोणले मात्रै प्रस्तुत गर्ने गरेको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले अब सञ्चारमाध्यमले समस्या मात्र नभएर समाधान, क्षमता र योगदानका कथा बढी ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा स्पाइनल इन्जुरी सङ्घ नेपाल अन्तर्गत भ्वाइस परियोजनाका साथी परामर्शदाता रामबहादुर तामाङले अपाङ्गता भएकालाई “बिचरा” वा “असहाय” जस्ता शब्दले मात्रै चित्रण गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै यसलाई तोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साहसपूर्वक आफ्नो जीवन अघि बढाइरहेका र समाजमा योगदान गरिरहेका अपाङ्गता भएका व्यक्तिका कथा प्राथमिकतामा आउनुपर्ने उहाँको भनाइ छ ।

स्पाइनल इन्जुरी सङ्घका महासचिव केशव थापाले अझै पनि अपाङ्गमैत्री भौतिक संरचना र शिक्षाको सहज पहुँच नहुँदा अपाङ्गता भएका व्यक्ति अवसरबाट बन्चित हुन बाध्य हुने गरेको बताउनुभयो। केवल समस्या मात्र होइन, समाधान र सुधारका पहललाई पनि समाचारमा प्राथमिकता दिनुपर्नेमा उहाँको पनि जोड थियो ।

त्यस्तै, ह्वीलचेयर प्रयोगकर्ता शिशिर दाहालले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै इच्छाशक्ति र अवसर मिलेमा अपाङ्गता भएका व्यक्तिहरू पनि सफल व्यवसायी बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “म आफैं व्यवसायमा लागेको छु, यो मेरो इच्छाशक्ति र मेहनतकै परिणाम हो । तर यस्ता कथा सञ्चारमाध्यमले अझै कम देखाएको छ,” । उहाँले विकट क्षेत्रमा बस्ने अपाङ्गता भएकाहरूको अवस्था अझै ओझेलमा परेको भन्दै उनीहरूको आवाज पनि सार्वजनिक गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभएको छ ।

स्पाइनल इन्जुरी सङ्घ नेपालका निर्देशक इशा थापाले सीप र इच्छाशक्ति हुँदाहुँदै पनि शिक्षा र अवसरको कमीले अपाङ्गता भएका व्यक्ति पछाडि पारेको बताउनुभयो । गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्न अब नीति र संरचनात्मक दुवै परिवर्तन गर्न जरुरी रहेको उहाँले बताउनुभयो। उहाँले अपाङ्गमैत्री भौतिक संरचना निमार्णमा सरकारले नीतिगत पहल गर्नुपर्ने समेत बताउनुभयो ।

नेशनल फेडेरेसन अफ द डिसेबल्ड नेपालका अध्यक्ष देविदत्त आचार्यले सरकारका नीति र संरचनामा अझै अपाङ्गमैत्री दृष्टिकोणको कमी रहेको बताउनुभयो । सञ्चारमाध्यमले यसतर्फ गहिरो चासो दिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “केवल ‘सरकारले संरचना बनायो’ भन्ने समाचार पर्याप्त हुँदैन। त्यो संरचना सबैका लागि पहुँचयोग्य छ कि छैन भन्ने प्रश्न पनि सञ्चारमाध्यमले उठाउनुपर्छ,” ।

नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता भएका महिलाहरूको अवस्था अझ चुनौतीपूर्ण रहेको बताउनुभयो । महिला भएकै कारण उनीहरूले दैनिक जीवनमै भोग्ने समस्यामा अपाङ्गता थपिँदा दुगुना चुनौती झेल्नुपर्ने उहाँको भनाइ छ । यस्तो अवस्थामा सञ्चारमाध्यमले महिला अपाङ्गता भएका व्यक्तिहरूका आवाजलाई अझ प्राथमिकता दिनुपर्ने पौडलले बताउनुभयो ।
स्वावलम्बन जीवनयापनका महासचिव गणेश केसीले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीसँग जोड्ने र उनीहरूले उत्पादन गरेको वस्तुलाई बजारसम्म पु¥याउन सञ्चारमाध्यमले टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
हामी दाजुभाइ परियोजनाका अधिकृत विनव शाख्यले अपाङ्गता भएका व्यक्तिको जिवनशैलि सुधार र अधिकार सुनिश्चितताका लागि नीति सुधारमै दिगो समाधान खोज्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी सरिता लामिछानेले सफलतामा कुरामा पढेलेखेका व्यक्तिको मात्र कथा सुनाउनु नहुने बताउँनुभयो । उहाँले बिद्यालय शिक्षाबाट टाढा भएका तर सिप सिकेर आफ्नो लागि आफै पैरवी गरेका अपाङ्गता भएका व्यक्तिहरुको बिषय पनि सञ्चारमाध्यमको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का कार्यबाहक महासचिव भक्त स्याङ्तानले सीआइएनले धेरै वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूका मुद्दा प्राथमिकतामा राख्दै आएको स्मरण गर्दै, अपाङ्गता केवल क्रस–कटिङ्ग मुद्दा मात्र नभइ गहिरो दायित्व र जिम्मेवारीको विषय भएको बताउनुभयो । सीआईएनले आगामी दिनमा समेत यस अभियानलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२