रेडियो बुढीनन्दा, कोल्टी बाजुरा
बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ। बाजुरा र हुम्लाबीच उत्पन्न विवादले अशान्त बनेको लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको हो ।
लाम्पाटामा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टिम रहने गरि अस्थायी चौकी स्थापना भएको हो। योसँगै तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर लाम्पाटासहित रानीसैन क्षेत्रमा सुरक्षामा उक्त टोलीले नियमित गस्ती गर्ने भएको छ।
दुई जिल्ला बीच बाजुराको लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न सुरु गरे पछि विवाद सुरु भएको थियो । पछिल्लो समय विवाद झन् सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो।
केही दिनअघि हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुव्र्यवहारसँगै गोठमा आगजनी गरेको विषय समेत बाहिरिएको थियो । त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेश स्थापना गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ। अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने समेत बताइएको छ ।
यसैबीच उक्त क्षेत्रमा प्रहरी पुगे पछि लाम्पाटाका स्थानीय गाउँ फर्केका छन्, स्थिति सामान्य बन्दै गएको छ। यसअघिको घटनामा पीडित भएका तथा त्रसित बनेर लाम्पाटाबाट अन्यन्त्र बसेका त्यहाँका स्थानीय बासिन्दाहरु प्रहरी पुगेसँगै गाउँ फर्कन थालेका हुन् ।
उनीहरुले शान्ति सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण तथा स्थानीय नागरिकको सुरक्षा थप मजबुत हुने अपेक्षा राखेका छन । लामो समयदेखि सुरक्षा उपस्थितिको आवश्यकता महसुस गरिँदै आएको लाम्पाटामा प्रहरी चौकी स्थापना हुदा स्थानीयवासीका लागि सकारात्मक र स्वागतयोग्य कदम छ ।
यसले जनतालाई सुरक्षाको अनुभूति दिलाउनुका साथै बाजुराको विकास र समृद्धिको यात्रालाई समेत सहयोग पु¥याउने विश्वास गरिएको छ ।
त्यस्तै विवादित लाम्पाटा क्षेत्रमा प्रहरी चौकीका लागि प्रदेश सरकारले थप बजेट विनियोजन गर्ने र वन कार्यालयको पोष्ट पनि स्थापना गरिने प्रदेश माननिय नरेश कुमार शाहीले बताउनुभएको छ। उहाँले टेलिकम टावर र फोर जि सेवाका लागि पनि पहल भैरहेको बताउनुभएको हो।
हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुव्र्यवहार गरेका थिए। यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुव्र्यवहार गरेको स्थानीयले बताएका छन् ।
त्यस्तै जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो। घटनामा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि समेत आक्रमण भएको थियो।
उक्त घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए ।
पीडितहरुले घटनाको थयार्थ छानबिन गरी दोषिहरुलाई कारबाहीको माग गर्दै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । लाम्पाटा घटनामा कुटपिट तथा दुव्र्यवहार गर्ने हुम्लाका २३ जनाका नाममा पक्राउ पूर्जी समेत जारी भइसकेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३