बर्दिया । बर्दियाको बारबर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी हुँदा गाडीमा रहेका कागजपत्र र ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
आज बिहान करिब ६ बजेर ५० मिनेटमा बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोकमा महेन्द्र राजमार्गमा गुडिरहेको ईभी हाइसमा एक्कासि आगलागी भएको हो।
कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको भाडाको ईभी हाइसमा आगलागी भएको प्रहरीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको उक्त गाडीमा चालक र सहचालक मात्रै सवार थिए।
आगलागीबाट गाडीमा रहेका कागजपत्र र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
ठाकुरबाबा नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३