काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन भनिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो ।
मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भाग नजिक रहेको छ ।
उक्त प्रणाली थप सशक्त भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ ।
यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकोले बाढी, पहिरो तथा गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विशेषगरी नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको छ ।
अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सडकमा सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
आपत्कालीन सहयोगका लागि राष्ट्रिय आपत्कालीन नम्बर ११४५, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३