काठमाडौँ । बाढी लगायतका विपद्को विभत्स तस्विर तथा भिडिओ सार्वजनिक गर्ने र भ्रामक सूचना फैलाउनेक्रम बढेपछि सरकारले छानबिन तथा कारबाहीका लागि १० दस्यिय समिति गठन गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका एक प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
यो समितिले विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदयविदारक, विभत्स तस्विरहरू तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेका विवरणको अध्ययन गर्ने जनाइएको छ ।
त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न एवम् त्यस्ता प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्ने जिम्मेवारी पनि समितिले पाएको छ ।
त्यस्ता गलत कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचानसमेत गरी कानुनी कारबाही गर्नको लागि पनि प्रकिया अघि बढाउन सजिलो हुने विश्वास सरकारको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३