काठमाडौँ । चाडपर्वको समयमा तडकभडक गरि सम्पूर्ण जानकारी सामाजिक सञ्जालमा नराख्न प्रहरीले आग्रह गरेको छ ।
यस्ता गतिविधिहरु अपराधीले नियालिरहेको हुने र देखावटी व्यवहारले चोरी, लुटपाट वा अन्य अप्रिय घटनाको जोखिम अझ बढ्न सक्ने तर्फ प्रहरीले सचेत गराएको हो।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विनोद घिमीरेले गरगहना, पैसा लगायतका जानकारी र आफू यात्रा गर्ने लगायतका सम्पूर्ण व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सकेसम्म नराख्न सीआइएन मार्फत आग्रह गर्नुभयो ।
यसैबिच, मधेश प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।
विशेष सुरक्षा योजनाअनुसार प्रदेशभर ६ हजार ५ सय ३२ नेपाल प्रहरी र ६ हजार ५ सय सशस्त्र प्रहरी गरी कुल १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै चोरी, लुटपाट, गुण्डागर्दी तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको धनुषाका जिल्ला प्रहरी निरिक्षक सञ्जिब यादबले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार, जेन–जी आन्दोलनको क्रममा १ हजार १ सय ४४ कैदीबन्दी भागेका थिए । जसमध्ये हालसम्म ५ सय ९० कैदी अझै कारागार फिर्ता भएका छैनन् । प्रहरीले नागरिकलाई पनि कुनै आपराधिक घटना देखे तत्काल एक सय नम्बरमा जानकारी दिन आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२