सामुदायिक रेडियो आफ्नो एफ.एम १०४.८ मेगाहर्ज डडेल्धुरा
डडेल्धुरा । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो आफ्नो एफ.एम १०४.८ मेगाहर्ज डडेल्धुराले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक कार्यक्रमसहित वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा रेडियोकी नियमित श्रोता अजयमेरु गाउँपालिकाकी जानकी चन्दलाई रेडियो सेट उपहार प्रदान गरिएको थियो। रेडियोका संयोजक विजय कुमार मानन्धर र स्टेशन म्यानेजर सागर ताम्राकार स्वयं जानकी चन्दको घरमै पुगेर रेडियो हस्तान्तरण गरेका थिए।
वार्षिकोत्सवको मुख्य कार्यक्रम जेठ ३१ गते रेडियो परिसरमा आयोजना गरिएको थियो। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गगन सिंह भण्डारीले आफ्नो एफ.एमले स्थापना कालदेखि नै जनताको पक्षमा उभिएर सत्य, स्पष्ट र निष्पक्ष सूचना प्रवाह गर्दै आएको बताउनुभयो। उहाँले सामुदायिक रेडियोको मर्मअनुसार स्थानीय जनताका आवाज, समस्या र सरोकारलाई प्राथमिकताका साथ उठान गर्दै आएको भन्दै रेडियोले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
त्यस्तै, रेडियो युनिटीका म्यानेजर तथा डडेल्धुरा पोस्टका सम्पादक उत्तर विष्टले आफ्नो एफ.एमले समुदायमा असल भूमिका निर्वाह गर्दै गुणस्तरीय तथा जनमुखी कार्यक्रम उत्पादन गरिरहेको बताउनुभयो। उहाँले स्थानीय सञ्चार माध्यमले जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएको धारणा राख्नुभयो।
कार्यक्रममा रेडियोका पूर्व कर्मचारी तथा ग्रेस मेडिकलका प्रोप्राइटर जीत भट्टले आफ्नो एफ.एमले अन्य सञ्चार माध्यमभन्दा फरक ढंगले समाजलाई हेर्ने दृष्टिकोण विकास गरेको बताउनुभयो। उहाँले रेडियोले समाचार सम्प्रेषणमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व, जनचेतना, समुदायको आवश्यकता र स्थानीय सरोकारका विषयलाई प्राथमिकतामा राख्दै काम गरेको उल्लेख गर्नुभयो। समाज परिवर्तनका लागि रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
सोहि कार्यक्रममा रेडियोका संयोजक विजय कुमार मानन्धरले आफ्नो एफ.एमको स्थापना, पृष्ठभूमि र १८ वर्षे यात्राबारे प्रकाश पार्नुभएको थियो। उहाँले २०६५ सालमा सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिबीच स्थापना भएको रेडियोले जनचासोका विषय उठान गर्ने, विकास निर्माणका गतिविधिबारे जानकारी दिने, अनियमितताविरुद्ध खबरदारी गर्ने तथा सरोकारवालाको ध्यानाकर्षण गराउने कार्य निरन्तर गर्दै आएको बताउनुभयो। साथै सुदूरपश्चिमको कला, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पनि रेडियोले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँले उल्लेख गर्नुभयो।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको आफ्नो एफ.एमले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि रेडियोले २० जनालाई निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने कार्यक्रम सुरु गरेको छ।
वि.सं. २०६५ साल जेठ ३२ गते स्थापना भएको आफ्नो एफ.एम डडेल्धुरा जिल्लाको पहिलो रेडियो प्रसारण संस्था हो। जिल्लामा सञ्चार पहुँच सीमित रहेको समयमा स्थापना भएको रेडियोले जनताको आवाज बोल्ने, सामाजिक उत्तरदायित्व बहन गर्ने र सामुदायिक सञ्चारको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई अघि बढाउँदै आएको छ।
हाल आफ्नो एफ.एम डडेल्धुरा, ओखलढुंगा, रुकुम, चितवन, दाङ र जनकपुर गरी देशका ६ स्थानबाट प्रसारण भइरहेको छ। आगामी दिनमा बाँकी दुई प्रदेशमा समेत रेडियो विस्तार गरी नेपालका सातै प्रदेशमा सामुदायिक सञ्चारको पहुँच विस्तार गर्ने लक्ष्य रहेको संयोजक मानन्धरले जानकारी दिनुभयो।
उहाँले रेडियोको सफल यात्रामा साथ, सहयोग र विश्वास गर्ने श्रोता, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको आवाजलाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३