दाङ । मानसिक स्वास्थ्य समस्या समाधानका लागि लुम्बिनी प्रदेशमा मनोसामाजिक परामर्श सेवालाई अभियानको रूपमा थालिएको छ ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा लुम्बिनी प्रदेशका १२ जिल्लालाई लक्षित गरेर मनोसामाजिक परामर्शकर्ता परिचालन गर्न थालिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले मानसिक स्वास्थ्य समस्यालाई व्यक्ति, परिवार र समुदायमा अभियानका रुपमा सञ्चालन गर्न सबैको जिम्मेवारी रहेको बताउनुभयो ।
६ महिने मनोसामाजिक परामर्शकर्ताको दोश्रो मोडुल अन्तर्गत १० दिने तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री सारुले मानसिक स्वास्थ्यलाई सम्बेदनशील तवारले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

"तपाईँहरुको महत्वपूर्ण सेसन समयले मानिसलाई मृत्युबाट जोगाउन मद्दत गर्दछ । आत्महत्याको घटना बढ्दै गएको सन्दर्भमा मनोसामाजिक परामर्शकर्ताको सीप प्रयोग गर्न जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा मात्रै सीमित नभइ समुदाय स्तरमा विस्तारमा पुग्न जरुरी छ ।" उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको कार्यान्वयन स्वरुप स्वास्थ्य मन्त्रालयले २० जना नर्सिङ स्टाफहरू यो एड्भान्स तालिममा सहभागी गराई परिचालन गर्ने योजना गरेको छ भने २६ जना रोमिङ्ग नर्सलाई समुदायस्तरमा आधारभूत मनोसामाजिक सेवा, पोषण स्वास्थ्य, लैङ्गिक हिंसासम्बन्धी सचेतनामूलक लगायतका क्रियाकलाप सञ्चालन गर्ने योजना अनुरुप तालिम दिइ सकिएको छ ।
विभिन्न कारणले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याको जोखिम धेरै रहेको उल्लेख गर्दै आत्महत्याका घटना कम गर्न तपाईँको सीपलाई कार्यन्वयन गरी जीवन रक्षा गर्नु पेशागत जिम्मेवारी रहेको स्वास्थ्यमन्त्री सारुले बताउनुभयो ।
सीएमसी नेपालका नीति, रणनीति र सुशासन प्रमुख हिमाल गैरेले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको कार्यन्वयन सबैको जिम्मेवारी रहेको बताउँदै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रणनीतिका उद्देश्य प्राप्तिमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसीले मानसिक स्वास्थ्य समस्या गम्भीर समस्याको रूपमा देखा परिरहेको सन्दर्भमा यसको समाधान र निदानका लागि स्वास्थ्य मन्त्रालय सचेत ढङ्गले कार्यक्रमहरु निर्माण गरी कार्यान्वयनमा जाने बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले नीतिगत रुपमा मानसिक स्वास्थ्य प्राथमिकता परेकोले यसको कार्यन्वयनका निम्ती लाग्नुपर्ने सुझाव दिनुभयो ।
एड्भान्स मनोसामाजिक परामर्श तालिममा लुम्बिनी प्रदेशका प्रदेश अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न स्थानीय तहका २० जना नर्सिङ स्टाफहरूको सहभागिता रहेको थियो ।
स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुवरले मनोसामाजिक सेवाका लागि दक्ष तथा तालिमप्राप्त जनशक्ति आवश्यक रहेकोले जनशक्तिको व्यवस्थापन गर्न र मानसिक स्वास्थ्य समस्याको जोखिम कम गर्नका निम्ती मनोसामाजिक परामर्शकर्ता तयार पार्न थालिएको बताउनुभयो ।

मानसिक रोगको रोकथाम गर्नका निम्ती र सेवाको उपलब्धता बारे सचेत गराउनका निम्ती सबै गम्भिरतापूर्वक लाग्नुपर्ने निर्देशक कुवँरले बताउनुभयो ।
मनोविद् रस्मिता तामाङ, मनोविद् सुपरिवेक्षक गोपाल बोहोराले तालिमको सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसन, ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच देखा परेको छ ।
१८ वर्षमाथिका व्यक्तिहरूमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।
३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस, ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच देखिएको छ । लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् ।
१८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिले जीवनमा एकपटक मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना रहेको अध्ययनहरूले देखाएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२