अदानचुली (हुम्ला) । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको स्थित छत्रपाल आधारभूत विद्यालयमा आगालागी भएको छ । गए राति करिब ८ बजे विद्यालयमा आगलागी सुरु भएको थियो ।
अगालागीबाट विद्यालयको २ तले दुई कोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मुलद्वारमा रहेको भवनमासमेत आगलागी भएको छ, जहाँ अफिस कोठा सञ्चालित थियो । आगलागीबाट २०५२ सालदेखिका दस्तावेज जलेर नष्ट भएका छन् ।
अफिस कोठामा भएको सोलार १ सेट, २ वटा ल्याप टप, २ कम्प्युटर, ४–४ वटा सोफा सेट र दराज, २१ वटा कुर्चि, ३ वटा मादल, हार्माेनियम, क्यासियो, ड्रम सेट, १२ सेट डेस्क बेन्च, २ वटा प्रिन्टर बुक कर्नर, डकुमेन्ट, कलाकाराका २० सेट ड्रेस, ३ वटा सिल्ड, २ सय ५० वटा कचौरालगायतका सामग्री जलेको शिक्षक नन्द फडेराले बताउनुभयो । ‘आगलागीबाट विद्यालयको अफिस कोठामा मात्र २ करोडभन्दा बढीको क्षति भएको छ, उहाँले भन्नुभयो ।’
विद्यालय नजिक बस्ती नरहेकाले अज्ञात व्यक्तिबाटै आगलागी भएको हुन सक्ने अनुमान विद्यालय प्रशासनले गरेको छ ।
विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२