रुकुम पूर्वका सडक बर्सेनि जोखिमपूर्ण बन्दै गएका छन् । वर्षा सुरु हुनासाथ नाला सफाइ नहुँदा पानी सडकमै बग्छ र सडक भत्किने, हिलाम्मे हुने तथा यातायात अवरुद्ध हुने समस्या दोहोरिन्छ ।
वर्षौंदेखि नाला सफाइ नहुँदा सडक सतह भत्किएको छ भने खाल्डाखुल्डी बढेर दैनिक यात्रा जोखिमपूर्ण भएको छ । सिस्ने, पुथा उत्तरगङ्गा र भूमे गाउँपालिकाका ग्रामीण सडकमा नाली नबनाइदा मर्मतको काम बर्सेनि दोहोरिने गरेको छ ।

उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केबेन्द्र गौतम भन्नुहुन्छ, ‘सडक बनाउने ठाउँ–ठाउँमा डोजर त पुग्छ, तर नाला बनाउनेबारे कसैको ध्यान छैन, मध्यपहाडी लोकमार्गको भएको नाला सफाइ नगर्दा समस्या ग्रामीण सडककै जस्तो भएको छ ।’

सडक पूर्वाधार तथा गाउँपालिकाका प्रतिनिधिहरू जनशक्ति अभाव, बजेट कमी र प्राथमिकताको अस्पष्टताका कारण नाला व्यवस्थापनमा समस्या भएको स्वीकार गरे पनि विज्ञहरूले, ‘पहिले नाली, अनि सडक’ भन्ने मूल सिद्धान्त बिना सडक टिकाउ नहुने बताउँछन् ।

मध्य पहाडी लोकमार्गको नाली सफाइ र ग्रामीण सडकमा नाली नबन्दासम्म रुकुम पूर्वका धेरै जसो सडकहरू बर्सेनि जोखिमपूर्ण रहिरहने निश्चित छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२