रुकम पूर्व । गत माघ १३ देखि १७ गतेसम्म सिस्ने गाउँपालिका–३ मा सञ्चालन भएको गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाइरल बनेका बालक परिवर्तन घर्तीलाई देशका विभिन्न स्थानबाट सहयोग जुट्न थालेको छ ।
सिस्ने गाउँपालिका–४ स्थित जनप्रिय माध्यमिक विद्यालय, दादिङमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीय परिवर्तन घर्ती आर्थिक अभावकै बीच प्रतियोगितामा सहभागी भएको खबर सार्वजनिक भएपछि सहयोग गर्नेको सङ्ख्या बढेको हो ।
तीन हजार मिटर दौडमा आफूभन्दा उमेरले ठूला प्रतिस्पर्धीहरूसँग च्यात्तिएको चप्पल र पुरानो ड्रेसमै मैदानमा उत्रिएका परिवर्तनको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि सहयोगी मन भएका नेपालीहरूको ध्यान खिचिएको हो ।
उक्त दृश्य पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकलगायतले भिडिओ बनाएर फेसबुक, टिकटक र युट्युबमा सार्वजनिक गरेपछि परिवर्तनको साहस, लगनशीलता र संघर्षशील जीवनले धेरैको मन छोयो ।
फाटेको कपडा र च्यात्तिएको चप्पलमै पनि हार नमान्ने उहाँको दृढताले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई भावुक बनायो र सहयोगको लहर सुरु भएको हो ।
भिडियो सार्वजनिक भएपछि वाइसीएल नेपाल केन्द्रीय समितिका सदस्य तथा रुकुम पूर्वका जिल्ला इन्चार्ज मनबहादुर बुढाथोकी (विद्रोही) ले परिवर्तनलाई स्टेशनरी सामग्री, लत्ताकपडा र जुत्ता सहयोग प्रदान गर्नुभयो ।
पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले परिवर्तन र उहाँको बुवालाई रुकुमकोटमा बोलाएर नगद पाँच हजार रुपैयाँ तथा तीन हजार नौ सय चालीस रुपैयाँ बराबरको स्टेशनरी सामग्री प्रदान गर्नुभएको छ ।
बिकका अनुसार सामाजिक सञ्जालमा भिडियो राखेपछि धेरैले फोन र सन्देशमार्फत सहयोग गर्न इच्छा देखाए पनि पारदर्शिता कायम गर्न परिवर्तनकै नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ।
सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नम्बर ०७२८४०५७१२८३१०१० मा सहयोग गर्न सक्ने जानकारी दिइएको छ ।
परिवर्तनका बुवा तिलप्रसाद घर्तीले छोरालाई साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२