रुकुम पूर्व । रुकुम पूर्वको दुर्गम हुकाम - मैकोटबासीले खोला वारपारका लागि वर्षौँदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएका छन् ।
बर्खायाम लागेसँगै उर्लिने मैकोट खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो । संघ र प्रदेश सरकारबाट पटक–पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तरगंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर खोलामा बेलीब्रिज जोडेको हो ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट र –५ हुकामलाई जोड्ने गरि निर्माण गरिएको बेलीब्रिजको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले उद्घाटन गर्नुभयो । करिब एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सजिलो भएको छ ।
पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौँसम्म आवतजावतबाट वञ्चित हुने गरेका थिए ।
बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौँदेखिको समस्या समाधान भएको बताउनुभयो ।
मैकोट क्षेत्र उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ ।
कोइलाबास–दाङ–होलेरी–थवाङ हुँदै रुकुमपूर्वका काक्री, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सडकखण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रुकुम सहकर्मी निराजन विक शिर्पालीले खबर पठाउनुभएको छ ।
गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले पक्की पुलका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय सरकार आफैं अग्रसर हुनुपरेको उल्लेख गर्नुभयो । गाउँपालिकाले अन्य दुई स्थानमा निर्माण भैरहेका बेलीब्रिजसमेत उद्घाटन गर्ने तयारी गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३