देउखुरी । मनोचिकित्सीय औषधि आपूर्ति सहज र पर्याप्त गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।
अझैँ पनि मानिसले मानसिक स्वास्थ्यलाई हेलचक्राई गर्ने, लाज र हिनताबोधकै कारण उपचार लिनसमेत नजाने प्रवृत्तिलाई संवेदनशील रुपमा हेर्नुपर्नेमा उनीहरूको जोड छ ।
स्वास्थ्य संस्थामा उपचार लिन जानेहरुले आफ्नो स्वास्थ्यलाई लिएर खुलेर कुराहरु नराख्ने, राखिहाले पनि त्यस खाले उपचार सेवा र जनशक्तिको व्यवस्था नहुदा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकिएकोप्रति पनि ध्यानाकर्षण गराइएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सीएमसी नेपालसँगको सहकार्यमा मानसिक स्वास्थ्यसम्बन्धी औषधिहरुको आपूर्ति श्रृङ्खला व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायले यस बारेमा छलफल गरेका हुन् ।
प्रदेश, जिल्ला तथा स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थाहरुमा मानसिक स्वास्थ्य उपचारका लागि औषधिको आपूर्तिलाई सहज बनाउने योजना बारे जानकारी गराइएको हो ।
मनोचिकित्सकीय औषधि खरिद गर्ने अख्तियारी प्रदेश सरकारलाई छ तर, स्थानीय र प्रदेश तहबीचको समन्वय अभावले समयमा आपूर्ति नहुने, बिरामीसम्म सहज रुपमा नपुग्ने समस्या देखिएपछि समाधानका लागि पहल गरिएको हो ।
आगामी दिनमा औषधिको आपूर्ति सहज बनाउनका लागि समन्वय गर्ने निस्कर्ष निस्किएको सिएमसी नेपालका नीति रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले बताउनुभयो ।
अधिकारका दृष्टिकोणले पनि अपाङ्गता भएका व्यक्तिलाई बैशाखी, ह्विलचियर वा दूरदृष्टिजन्य समस्या भएका व्यक्तिलाई चश्माको जत्तिको महत्वहुन्छ मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुलाई मनोचिकित्सीय औषधि सहयोगी सामग्री भएकाले पनि सहज र पर्याप्त आपूर्ति प्रदान गर्दा गुणस्तरीय काम गर्न सक्छन् ।
वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले प्रदेशलाई औषधि खरिद गर्ने अधिकार रहेको र यहाँ खरिद भएको औषधि जिल्ला हुदै स्थानीय तहसम्मका स्वास्थ्य संस्थामा पुग्नुपर्नेमा जोड दिनुभयो ।
‘प्रभावकारी समन्वय नहुँदा औषधि समयमा नपुग्ने समस्या छ ।’ उहाँले भन्नुभयो, त्यस समस्या न्यूनिकरण र समयमा खरिद गर्ने र वितरण गर्ने कुरालाई चुस्त बनाउन यस्ता कार्यक्रमले मद्दत पुग्दछ ।’ डा महतले थप्नुभयो ।
उपचार र औषधि आपूर्तिलाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा उच्च प्राथमिकतामा राखिएको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको, जसका लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, मानबहादुर ओली लगायतले सम्वोधन गर्दै मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्याउने गरी योजना निर्माण गरिने बताउनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२