काठमाडौँ । पोषण सुधारका लागि सरोकारवाला सबै एक जुट हुनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरूले बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज ललितपुरमा गरेको ‘पोषण सुधारका लागि सरोकारवाला बीच छलफल’ कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाका अधिकृत दिपेश कट्टेले पोषण सुधारका लागि सामाजिक व्यवहार र बानीमा परिवर्तनको आवश्यकता औँल्याउनुभयो ।
पोषणको अवस्थामा सुधार ल्याउनका लागि स्थानीय सरकारले पनि लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा काठडौँको कीर्तिपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत अमृतजङ्ग बस्नेतले पछिल्लो समय मानिसले खान नपाएरभन्दा पनि खान नजानेर समस्या हुने गरेको बताउँदै यसको सुधारका लागि स्वास्थ्य मात्र नभइ सबै पक्षबीच राम्रो समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।
कीर्तिपूर नगरपालिकाले स्थानीय तहबाट बहुपोषण सुधारका लागि काम गर्दै आएको तर सङ्घीय सरकारले आवश्यक बजेट समयमा नदिँदा समस्या हुने गरेको बस्नेतले बताउनुभयो ।
चन्द्रगिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले हरेक महिनाको १५ गतेलाई आफूहरूले पोषण दिवस मनाउने गरेको जानकारी दिँदै सरकारले दिएको दिवा खाजामा ५० रुपैयाँ थपेर खाजा दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँका अनुसार चन्द्रागिरी नगरपालिकाभित्रका बिद्यालयमा बनिबनाउ खाने कुरालाई प्रतिबन्ध लगाइएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले पालिकाले शिशुलाई कम्तिमा पनि ६ महिना दुध खुवाउनु पर्छ भन्ने विषयमा सचेत गराए पनि अभिभावकले नबुझिदिँदा कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।
कार्यक्रममा ज्योतिष पण्डित सुर्यनाथ लुईँटेलले गर्ववती आमाले शुुद्धपानी खानुपर्छ, पोषणयुक्त खाना खानुपर्छ भन्ने कुरा शास्त्रमा नै उल्लेख गरिएको बताउनुभयो ।
हिजोआज कस्तो खाना खानुपर्छ, के खानहुन्न भन्ने बारेमा बहस र चर्चा कम हुने गरेको बताउँदै उहाँले सुत्केरी ११ दिनसम्म कम्जोर हुन्छिन् र आराम चाहिन्छ भनेर गरिएको परम्परागत अभ्यासलाई गलत तरिकाले व्याख्या गरिएको धारणा राख्नुभयो ।
छलफलमा शङकरापुर एकाडेमीका नर्सिङ संयोजक कन्चन स्वारले बालबालिका र सुत्केरीका लागि पोषणको महत्व धेरै भए पनि यसबारेमा पछाडि पारिएका वर्ग, समुदाय र व्यक्तिलाई पर्याप्त जानकारीको अभाव भएको धारणा राख्नुभयो ।
गाउँघरमा नै पाइने खाने कुरामा जोड गर्दा पोषणमा सुधार ल्याउन सकिने उल्लेख गर्दै उहाँले आधुनिकताको नाउमा आमाको दुध नखुवाउने प्रवृत्ति बढेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२