तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले किसानको सहजताका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ।
अब अर्गानिक तरकारी र फलफूल किसानका खेतबारीमै पुगेर खरिद गरिनेछ ।
नगरप्रमुख अर्जुन मावुहाङकाअनुसार हप्तामा एकपटक एम्बुलेन्स किसानका घरमै पुगेर अर्गानिक कृषि उपज सङ्कलन गरी बजारमा पठाइनेछ। रासायनिक मल र बिषादी प्रयोग गरेका उपज भने खरिद नगर्ने नगरपालिकाको स्पष्ट नीति लिएको उहाँको भनाइ छ ।
कृषि एम्बुलेन्स सञ्चालनका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले आगामी आर्थिक वर्षमा थप २० लाख छुट्याएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो।
किसानले बिक्री गरेको रकम सिधै घरमुली महिलालाई भुक्तानी गरिने व्यवस्था गरिएको छ । २ हजार ९ सय किसानमध्ये हालसम्म १ हजार २ सय किसान अर्गानिक खेतीमा सूचीकृत भइसकेका छन्।
उनीहरुलाई नगरपालिकाले जैविक मल तथा बिषादी उत्पादन तालिम, अनुदान र सामग्री उपलब्ध गराइरहेको छ। अर्गानिक उपजलाई पूर्वी तराईका प्रमुख शहरमा बजार विस्तार गर्ने तयारीसमेत भइरहेको छ ।
यस नीतिले किसान उत्साहित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२