तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने मौरीपालन तालिम सम्पन्न भएको छ। मौरीपालन व्यवसायको प्रवद्र्धन गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको तालिम आइतबार सम्पन्न भएको हो ।
“समुदायको नेतृत्वमा पारिस्थितिक प्रणाली पुनस्र्थापना र जीविकोपार्जन सुधार कार्यक्रम” अन्तर्गत असार ३ गतेदेखि शुक्रबारे बजारमा सञ्चालन भएको तालिममा विभिन्न वडाका किसान तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । तालिममा आधुनिक मौरीपालन प्रविधि, घार व्यवस्थापन, मौरीमा लाग्ने रोग तथा त्यसको नियन्त्रण, मह उत्पादन र बजारीकरणका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले मौरीपालन व्यवसाय ग्रामीण क्षेत्रको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो। उहाँले छथर क्षेत्रमा मौरीपालनका लागि आवश्यक प्राकृतिक वातावरण, वनस्पति तथा जैविक विविधता पर्याप्त रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक चन्द्र कार्कीले मौरीपालन व्यवसाय नेपालका ग्रामीण समुदायका लागि सम्भावनायुक्त उद्यम भएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्राकृतिक महको माग बढ्दै गएकाले व्यवस्थित र वैज्ञानिक तरिकाले मौरीपालन गर्न सके राम्रो आम्दानी लिन सकिन्छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तेह्रथुमको आयोजनामा सम्पन्न तालिम विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन गरिएको हो। आयोजककाअनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा पारिस्थितिक प्रणाली संरक्षणमा योगदान पु¥याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
मौरीपालन व्यवसायलाई स्थानीय आर्थिक विकाससँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले छथर क्षेत्रका किसान तथा युवाहरूलाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३