तेह्रथुम । विश्व बन्धुत्व दिवसको अवसर पारेर मानव सेवा, सामाजिक सद्भाव, आपसी सहयोग र बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले तेह्रथुमको लालिगुराँस नगरपालिका–२, वसन्तपुरमा आयोजित रक्तदान कार्यक्रममार्फत ५३ पिन्ट रगत सङ्कलन भएको छ ।
समाज सेवा प्रभाग, ब्रह्माकुमारीजको आयोजनामा लालिगुराँस नगरपालिकाको पुरानो कार्यालय भवनमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, लालिगुराँस नगरपालिका कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरू तथा स्थानीय नागरिक सहभागी भएका थिए ।
रक्तदान कार्यक्रमका क्रममा महिला तथा पुरुष गरी कुल ५३ पिन्ट रगत सङ्कलन भएको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, तेह्रथुमले जनाएको छ ।
लालिगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्कीले रक्तदानलाई मानव सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न अनुरोध गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३