तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकको रक्षा गर्न तथा सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुममा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत आयोजित धर्नामा जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
धर्नाका क्रममा पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले यसलाई कमजोर पार्ने कुनै पनि नीति तथा निर्णय स्वीकार्य नहुने बताएका थिए ।
महासंघले हाल लागु गरिएका सूचना तथा विज्ञापन वितरणसम्बन्धी केही नीतिगत व्यवस्थाले सञ्चारमाध्यम माथि विभेद सिर्जना गरेको, स्वतन्त्र पत्रकारिताको अभ्यासलाई प्रभावित पारेको तथा नागरिकको सूचनाको हकमाथि समेत प्रतिकूल असर पुर्याएको जनाएको छ ।
धर्नापछि पत्रकारहरूले आफ्ना मागहरू प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई राखेका छन् ।
ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न, सूचना र विज्ञापन वितरणमा समान व्यवहार सुनिश्चित गर्न तथा सञ्चार क्षेत्रलाई प्रभावित पार्ने विभेदकारी निर्णय तत्काल खारेज गर्न माग गरिएको छ ।
र्यक्रमलाई सम्बोधन गर्दै महासंघका पदाधिकारीहरूले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपप्रति पत्रकार समुदाय एकजुट भएर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
महासंघले आफ्ना मागहरूको सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ ।
धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, समान विज्ञापन नीति र सञ्चारमाध्यम प्रतिको विभेद अन्त्य गर्नुपर्ने माग गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३