काठमाडौँ । बाढी पसेपछि केही दिनअघि काठमाडौँका विभिन्न नदी किनारका बस्ती जलमग्न भए । थापाथलीस्थित सुकुम्वासी बस्तीमा ढल सहित बागमतीको पानी पस्यो । त्यहीँ रहेको सानुमाया सुनारको छाप्रोमा पनि बाढीको लेदोसहितको पानी पस्यो । फोहोर पानीले खाद्यान्न र लुगाफाटो काम नलाग्ने गरी भिजायो ।
यतिसम्म त बरु ठिकै थियो, बाढी आए पछि सानुमाया र उहाँका छोराछोरी बिरामी परेका छन् । सबैलाई टाउको दुख्ने, ज्वरो आउने अनि झाडावान्ता हुने समस्या देखिएको सानुमायाले बताउनुभयो । घरका सबै बिरामी परेको भए पनि बस्ने ठाउँ भिजेर चिसो भएको तथा खानेकुरा सबै बिग्रेकाले थप सास्ती भइरहेको उहाँले बताउनुभयो ।
यो सुकुम्वासी बस्तीकै लगुमाया गोलेलाई हरेक बर्खा याममा डुबानसँगै सङ्क्रामक रोगको पनि उत्तिकै डर लाग्ने गरेको छ । रोगबाट जोगिन सफाइमा विशेष ध्यान दिने गरेको उहाँ बताउनुहुन्छ । पानी उमालेर खाने, सकेसम्म बजारको खानेकुरा नखाने र बालबालिकाको हेरचाहमा बढी ध्यान दिने गरेको उहाँले बताउनुभयो । तैपनि, वर्षा याममा उहाँको परिवारमा कोही न कोही बिरामी पर्ने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सङ्क्रामक रोगका कारण बर्सेनि तीन सय जनाको मृत्यु हुने गरेको छ । १० वर्षअघि सङ्क्रामक रोगका कारण वार्षिक एक हजार भन्दा धेरैको मृत्यु हुने गरेकोमा अहिले घटेर तीन सयमा झरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । मनसुनजन्य रोगको जोखिम कम गर्न मन्त्रालयले योजना बनाएर काम गरिरहेकाले सकारात्मक प्रभाव देखिएको उहाँको भनाई छ । तर अझै पनि एक वर्षमा ३ सय जनाको मृत्यु हुनु सामान्य भने नभएको डाक्टरहरू बताउँछन् ।
त्यस्तै मनसुनजन्य रोगका कारण नेपालमा बर्सेनि ६ लाखभन्दा धेरै जना बिरामी पर्ने गरेको मन्त्रालयले जनाएको छ ।
डाक्टरहरुका अनुसार सामान्य सावधानी समेत अपनाउन नसक्दा, धेरैलाई मनसुनजन्य रोगको जोखिम हुने गरेको छ । मनसुन अर्थात् वर्षा याम सुरु भएसँगै हैजा, झाडापखाला, ज्वरोलगायत डेङ्गु र स्क्रब टाइफसजस्ता किटजन्य सङ्क्रमणको जोखिम बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी बताउनुहुन्छ ।
वर्षा याममा दूषित पानीका कारण झाडापखाला, टाइफाइड, टाउको दुख्ने, छालासम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बढ्छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको वैशाखदेखि असार १५ सम्ममा मनसुनजन्य सङ्क्रमणको उपचारका लागि ६५ हजार भन्दा धेरै बिरामी अस्पताल पुगेका छन् ।
मनसुनजन्य रोगबाट बच्न पानी उमालेर मात्र प्रयोग गर्न, हिलोमा जानुपरेमा पुरै शरीर ढाक्ने गरी कपडा लगाउन र गम्बुटको प्रयोग गर्नुपर्ने भरतपुर अस्पतालका जनरल फिजिसियन डा. कल्याण सापकोटाको सुझाव छ । वर्षातकाे समयमा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको सङ्क्रमण बढ्ने गरेको छ । शुद्ध पानीको प्रयोग गर्न सके मात्र पनि धेरै रोगबाट बच्न सकिने डा. सापकोटा बताउनुहुन्छ ।
मनसुनजन्य सङ्क्रमणलाई घटाउन स्वास्थ्यबारे सचेतना फैलाउने कुरामा विशेष जोड दिनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१, १४:२२