काठमाडौँ । स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नहुँदा समावेशी सिद्धान्त कार्यान्वयन प्रभावकारी हुन नसकेको पाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहले नीति तथा कार्यक्रममा समावेशी सिद्धान्त अनुसार नै विषयवस्तु समावेश गर्ने गरेका छन् ।
तर थोरै बजेट भएका कारण कार्यान्वयनमा अझै सुधार गर्नुपर्ने देखिएको बारेमा जनप्रतिनिधि तथा पालिकाहरूलाई भन्दै आएको छ ।
मुलुकभरका ७ सय ५३ मध्ये केही स्थानीय तहले भने राम्रो अभ्यास गरेको मन्त्रालयले जनाएको छ ।
सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उपसचिव एवं सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख दशरथराम ओडले दस्तावेजमा सबै पालिकाले राम्रो कुरा लेखेको भए पनि कार्यान्वयनमा केही सुधार गर्नुपर्ने पक्ष भेटिने गरेको बताउनुभयो ।
समावेशी सिद्धान्त कार्यान्वयन गरेका पालिकाहरूको सफल अभ्यासका बारेमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सामग्री प्रकाशन पनि गर्दै आएको छ ।
यसले अरु पालिकालाई पनि उत्प्रेरित गर्ने उपसचिव ओडको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९, ११:०३