काठमाडौँ । देशभरका २७ वटा पालिकाले अझै बजेट सार्वजनिक गरेका छैनन् । जसमा १२ वटा नगरपालिका र १५ वटा गाउँपालिका रहेका छन् ।
अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ मा असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सम्बन्धित गाउँ सभा वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था भए पनि २७ वटा पालिकाले त्यसको पालना नगरेका हुन् ।
बजेट ल्याउन ढिलाइ भएमा नयाँ आर्थिक वर्षदेखि पालिकाले गर्ने खर्चमा समस्या आउँछ भने लेखा परीक्षण गर्दा बेरुजु देखिन्छ । गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले बजेटबारे समयमा नै छलफल सुरु हुन नसक्दा निर्धारित समयमा बजेट सार्वजनिक हुन नसकेको बताउनुभयो।
कतिपय पालिकामा प्रमुख र उपप्रमुखबिचको विवादका कारण बजेटबारेको छलफल रोकिएको छ भने कतिपय पालिकामा बजेट वितरणको विषयमा वडाध्यक्षको असहमतिका कारण पनि बजेट आउन नसकेको हो ।
बजेट ल्याउनका लागि नगरपालिका राष्ट्रिय महासङ्घले प्रयत्न गरिरहेको महासङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५०६ पालिकाहरूको बजेट पारित भएको छ भने अझै २४७ पालिकाको पारित हुन बाँकी छ । असार २५ गतेसम्म बजेट पारित गरिसक्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०, १९:३४