कैलाली । कैलालीको टीकापुर नगरपालिका भित्रका महिला, सीमान्तकृत समुदाय, आदिवासी, जनजाति समुदायका नागरिक हिजोआज आफ्नो लागि छुट्टाइएको बजेट कसरी कार्यान्वयन हुँदैछ भनेर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खोजी गरिरहेका छन् ।
बजेट बनाउने बेला नै सुझाव लिनेदिने गरिएका कारण पनि जान्नबुझ्न मन लाग्ने बताउनुहुन्छ दिगो विकास महिला सञ्जाल टीकापुरका अध्यक्ष चन्द्रावती शर्मा ।
टीकापुर अपाङ्गता सङ्घका अध्यक्ष बद्रिप्रसाद जैशीको पनि नगरपालिकाप्रतिको आफ्नो बुझाइ सकारात्मक नै रहेको बताउनुभयो ।
नगरपालिकाले आपाङ्गता भएका व्यक्तिलाई पनि बजेट तर्जुमा तथा योजना निर्माणमा सहभागी गराउने गरेको उहाँको भनाइ छ ।
वडादेखि पालिकास्तरसम्मका योजना छनोट प्रक्रियामा लक्षित वर्गलाई समेट्ने प्रयास गरिएको र यसले नागरिकमा अपनत्वको भावना बढाउँदै लगेको टीकापुर नगरपालिका वडा नम्बर ३ का सचिव तारा विक्रम रानाको भनाइ छ ।
नेपालको संविधान, १५ औं योजना, दिगो विकासका लक्ष्यलगायत सरकारले गरेका प्रतिबद्धताको मुख्य उद्धेश्य नै समावेशी समाज निर्माण हो ।
त्यसै अनुसार पालिकाभरि बजेट तर्जुमादेखि योजना निर्माणको अभ्यास भइरहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले बताउनुभयो ।
नगरपालिकाले विपन्न समुदायका महिलालाई बीउ पूँजी दिएर आत्मनिर्भर बनाउन सुरु गरेको कार्यक्रम पनि प्रभावकारी भएको सेवाग्राहीले बताउने गरेका छन् ।
स्थानीय सरकारको दोस्रो कार्यकाल सुरु भइसक्दा कतिपय जनप्रतिनिधिले समावेशी सिद्धान्त अनुसार बजेट निर्माणमा गरिएको सफल अभ्यासले सेवाग्राही वा लक्षित वर्ग खुसी हुन थालेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, १३:३६