काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा विभिन्न जिल्लाका सामुदायिक रेडियोकर्मीहरूलाई मोबाइल तथा डिजिटल पत्रकारिता तालिम दिइएको छ ।
मोबाइलबाट नै कसरी समाचार तथा सूचनामूलक सामग्री उत्पादन गर्ने भन्ने बारेमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यासमार्फत तालिममा सहभागीलाई जानकारी गराइएको हो ।
आफ्नो साथमा रहेको फोनको सहायताले पत्रकारले घटनास्थलबाट नै प्रत्यक्ष रिपोर्ट गर्न सक्ने विभिन्न एप,समाचारमूलक सामग्री उत्पादनका लागि पूर्व तयारी र विभिन्न सामाजिक सञ्जालको उपयोगको बारेमा छलफल गरिएको थियो ।

असार १५ र १६ गते अकोराबको ललितपुरमा रहेको कार्यालयको सभाकक्षमा भएको तालिममा डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले हिजोआज रेडियो, पत्रपत्रिका तथा टेलिभिजनका लागि भन्दा पनि फेसबुक, युट्युबलगायतका माध्यमका लागि सामग्री उत्पादन गर्ने प्रतिस्पर्धा चलेको बताउनुभयो ।
अहिलेका सूचनामूलक तथा जानकारीमूलक सामग्री उत्पादनको शैली, पाठक र स्रोता फेरिएको उल्लेख गर्दै समय अनुसार नै सीपको विकास गरिएन भने पछाडि पर्ने अवस्था आउने बताउनुभयो ।
डिजिटल माध्यमका लागि सामग्री निर्माण गर्दा सही सूचना कसरी सङ्कलन गर्ने र त्यसका लागि कुनकुन माध्यम विश्वासिलो प्रभावकारी छन् भन्ने बारेमा पनि अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो ।
डिजिटल सामग्रीको उत्पादनका लागि सूचना सङ्कलन गर्न बाढी, आगलागी,पहिरोको बारेमा जानकारी लिने माध्यम, पाठक तथा दर्शकले जान्न चाहेको सूचनालगायतका बारेमा पनि छलफल गरिएको थियो ।
तालिममा बीबीसी मिडिया एक्सन ब्रिजेज परियोजना मुख्य मेन्टर भुवन तिमल्सिनाले स्रोता वा दर्शकले खोजिरहेको सामग्री र पत्रकारले ध्यान दिनुपर्ने पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।

सूचना प्रविधिको विकास भए पनि आफ्नो साथमा रहेको मोबाइलबाट राम्रो सामग्री उत्पादन गर्न सकिने उहाँको भनाइ थियो ।
समचार तथा सूचनामूलक सामग्री लामो र धेरै बनाउने भन्दा पनि दर्शक र स्रोतालाई कसरी बाँधिराख्ने भन्ने बारेमा अपनाउनुपर्ने सावधानीका बारेमा पनि तिमल्सिनाले अनुभव सुनाउनुभएको थियो । डिजिटल सामग्री बनाउँदा शीर्षक, फोटो तथा भिडिओको गुणास्तरका बारे पनि उहाँले सिकाउनुभएको थियो ।
तालिममा सामुदायिक सूचना नेटवर्क (सीआईएन) का कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले मोबाइलको माध्यमबाट उत्पादन गर्न सकिने समाचार तथा सूचनामूलक सामग्रीको प्रयोग र ध्यान दिनुपर्ने पक्षका बारेमा छलफल गर्नुभएको थियो ।

प्रविधिकिको विकाससँगै फोटो र भिडिओमा पत्रकारको ध्यान केन्द्रीत भए पनि फोटो र भिडिओ खिच्दा भइरहने गल्ती र सुधारका लागि अपनाउनुपर्ने सावधानीका बारेमा पनि उहाँले जानकारी गराउनुभयो ।
पहिलेका दिनमा पत्रकारिता गर्नका लागि रेडियो, टिभी, पत्रिकाको आवश्यक पर्ने गरे पनि हिजोआज पत्रकारिताका लागि वैकल्पिक माध्यमको विकासको भएको उल्लेख गर्दै अनलाइन तथा सामाजिक सञ्जालमा डिजिटल सामग्री राखेर पनि आम्दानी लिन सक्ने अवस्था आएको चन्दले सुनाउनुभयो ।
डिजिटल सामग्री उत्पादनका लागि प्रविधिसँग रमाउनुपर्नेमा जोड दिँदै कार्यक्रम उत्पादक चन्दले सही रुपमा प्रयोग नगरिएको अवस्थामा प्रविधिले क्षति पुर्याउने अनुभव पनि सुनाउनुभयो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले छापा तथा विद्युतीय माध्यमको विकल्पका रुपमा डिजिटल सामग्री निर्माणको प्रतिस्पर्धा चलेको उल्लेख गर्दै रेडियो, टिभी र पत्रपत्रिकाले पनि आफूलाई समय सुहाउँदो सामग्री उत्पादनमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
तालिममा सिकेको ज्ञान र सीपलाई प्रयोग गर्दै डिजिटल सामग्री उत्पादनमा संलग्न हुन अनुरोध गर्दै अध्यक्ष गिरीले सफलताको शुभकामना दिनुभयो ।
देशका विभिन्न जिल्लाबाट सहभागी २८ जना पत्रकार तालिममा सहभागी भएका थिए ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२