काठमाडौं । आज रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।
चक्रवात ‘मोन्था’ को प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर दिउँसोपछि अझै पानी पर्ने क्रम बढ्ने विभागका मौसमविद् विनु महर्जनले सीआईएनलाई जानकारी दिनुभयो ।
पानी पर्ने क्रम बढ्ने भएकाले यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न र पदयात्रामा ननिस्कन उहाँले अनुरोध गर्नुभयो । मौसमविद् महर्जनका अनुसार आज पानी पर्दै रोकिनेछ । भोलि भने लगातार झरी पर्ने सम्भावना छ ।
नेपालको पश्चिमी भेगमा भोलि बेलुकीदेखि पानी पर्न कम हुनेछ । तर पूर्वी भेगमा भने पर्सि बिहानसम्म नै पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
हिउँ र पानी परेसँगै अधिकतम र न्यूनतम तापक्रम घटेर देशभरी नै चिसो बढेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२