काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जीसहितको सहभागितामा सर्वदलीय, सर्वपक्षीय सरकार गठनको प्रस्ताव गर्नुभएको छ ।
आज राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग भएको भेटवार्ताका क्रममा वर्तमान सङ्कट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले अघि सारेको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभयो ।
वर्तमान सङ्कटको समाधानका लागि ओलीको मार्गचित्र प्रस्ताव गरिएको उहाँको भनाइ छ ।
विघटित प्रतिनिधि सभाको पुनःस्थापना, प्रतिनिधि सभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था, जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगर्ने ओलीको भनाइ रहेको पनि नेता रिजालले बताउनुभयो ।
जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन, उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचनका लागि प्रस्ताव गरिएको नेता रिजालले जानकारी दिनुभयो ।
संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति हुनुपर्नेमा पनि अध्यक्ष ओलीले जोड दिएको रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२