रुकुमपूर्व । रोल्पा जिल्लाको थबाङ गाउँपालिका–१ नम्बर वडा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीको लापरबाहीका कारण लामो समयदेखि निर्माणाधीन विद्युत् परियोजना सम्पन्न नहुँदा जनजीवन प्रभावित बनेको भन्दै वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष हिरा प्रसाद बुुढामगरले बुधबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रसँग विद्युत बाल्न २०८१ सालमै सम्झौता भइसके पनि आवश्यक विद्युत् लाइन तान्ने कार्य नहुँदा स्थानीय बासिन्दा निरन्तर समस्यामा परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “स्थानीय जनताको बारम्बारको माग बेवास्ता गरिएको र आवश्यक पहल नगरेकाले २०८२ साल कार्तिक १३ गते बिहीबारदेखि वडा कार्यालय बन्द गरिएको छ ।”
वडा अध्यक्ष बुुढामगरले जनताको माग तत्काल पूरा नभए आफूसहित वडाका निर्वाचित सबै सदस्यहरूले सामूहिक राजीनामा दिने चेतावनी दिनुभएको छ ।
यसैबीच, बुधबार नै थबाङ गाउँपालिका–२ नम्बर वडा अध्यक्ष अभिलाषा रोका मगरले पनि गाउँपालिकाले विकासका काममा उदासीनता देखाएको भन्दै वडा कार्यालय बन्द गरी पदबाट राजीनामा दिने चेतावनी दिइसक्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२