काठमाडौँ । कुनै पनि व्यक्तिको मनमा आउने आत्महत्याको भावना रोक्न र उक्त व्यक्तिलाई सामान्य जीवनयापनमा फर्काउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने एक कार्यक्रममा जोड दिइएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले आज आयोजना गरेको 'आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीसँग कार्यशाला' मा मानसिक रोग विशेष डा रितेश थापाले आत्महत्या बारेका समाचार लेख्दा पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
पछिल्लो समय आत्महत्याका घटनालाई पाठक र दर्शकको सङ्ख्या बढाउने उपायको रुपमा लिइएको उल्लेख गर्दै थापाले यसो गर्दा आत्महत्याको कारण, घटनास्थल, आत्महत्याको प्रक्रिया बारे जानकारी दिने प्रतिस्पर्धा सञ्चारमाध्यममा दिखिने हो कि भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
'आत्महत्या मानसिक समस्याको कारक हो । यो समाधानका लागि मनोपरामर्शदेखि औषधोपचार प्रक्रियामा जानुपर्ने पनि हुनसक्छ। तर समयमै जानकारी भएमा आत्महत्याको विचार मनबाट हटाउन सकिन्छ।' डा थापाले भन्नुभयो ।
मानिसहरुले रोलमोडल अर्थात अनुकरणीय ठानेका व्यक्तिको आत्महत्या बारे समाचार लेख्दा ध्यान नदिइएका कारण विश्वमा आम सर्वसाधारणले पनि आत्महत्या गरेका घटना सुनाउँदै उहाँले सञ्चारमाध्यमले सावधानी अपनाउनसके समाजमा यस्ता घटनामा कमि ल्याउन सकिनेमा जोड दिनुभयो ।
नेपालमा कोरोना महामारीको समयमा दैनिक २० जना व्यक्तिले मानसिक तनावका कारण आत्महत्या गरेको भए पनि पछिल्लो समयमा यो सङ्ख्यामा कमि आएको उहाँको भनाइ थियो ।
'मानसिक तनावमा भएको बेलामा कहाँबाट सहयोग लिन सकिन्छ भन्ने बारेमा जानकारी दिएर सञ्चारमाध्यमले आत्महत्या रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।' मानसिक रोग विशेषज्ञ डा थापाले थप्नुभयो, 'आत्महत्याका बारेमा समाजमा रहेका बिभिन्न भ्रम र वास्तविक्ता बारे जानकारी दिन सकेमा यस्ता घटना रोक्न सकिन्छ ।'
कार्यक्रममा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद डा पशुपति महतले सञ्चारमाध्यमले एकै पटकमा धेरै नागरिकसम्म सूचना र जानकारी पुर्याउनसक्ने भएका कारण आत्महत्या बारेमा आउने सोँच अनि रोक्न सकिने उपायका बारेमा नागरिकलाई सुसूचित गर्न अनुरोध गर्नुभयो ।
'आत्महत्याअघि व्यक्तिले बिभिन्न सङ्केत व्यवहार र बोलीको माध्यमबाट गर्छ । उनीहरुका यी सङ्केतलाई सामान्य रुपमा लिइनुहुँदैन ।' डा महतले भन्नुभयो' यस्ता सङ्केत देखिँदा वा सुनिदा कहाँ सम्पर्क गर्ने भन्ने बारेमा जानकारी दिएर गलत निर्णय लिन लागेकाहरुलाई सही बाटोमा लैजान सकिन्छ।'
स्थानीय सरकार आएसँगै मनोविमर्शकर्ता गाउँगाउँमा पुगेको उल्लेख गर्दै उनीहरुसँग पनि सम्पर्क गर्न सकिने डा महतको भनाइ थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७