सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) र आर्थिक पत्रकार समाज (सेजन)बीच समन्वय र सहकार्यबारे छलफल भएको छ ।
ललितपुर स्थित अकोरावको हलमा भएको कार्यक्रममा सामुदायिक रेडियोका पत्रकारहरूको क्षमता विकासमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
छलफलमा सेजनका अध्यक्ष भागवत भट्टराईले देशभरका सामुदायिक रेडियोहरूको संस्था अकोरावसँग सहकार्य गर्न पाएकाेमा खुसि व्यक्त्त गर्नुभयाे। गएको भदौ २१ गते भएको निर्वाचनबाट आफूहरू निर्वाचित भएको बताउँदै उहाँले भावी कार्ययोजना बनाएर समन्वय र सहकार्य गर्न सकिने बताउनुभएको हो ।

महासचिव कमल बस्नेतले सहकार्यको बाटो खुल्ला रहेको बताउँदै सम्भावित कार्यसूचीका लागि थप छलफल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सेजनका कोषाध्यक्ष केशु लामिछानेले सेजन र अकोरावको सहकार्यमा वित्तीय साक्षरतालगायतका कार्यक्रम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका कार्यसमिति सदस्य गिता चिमोरियाले साुमदायिक रेडियोको शक्ति पत्रकार महिला रहेको बताउँदै उनीहरूका लागि आर्थिक विषयको तालिम दिन सकिने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका निर्देशक शिरोमणि ढुङ्गानाले अधिकांश पत्रकार रेडियोले नै उत्पादन गर्ने गरेको बताउँदै सेजन र अकोरावबीच सहकार्य गर्न सम्भावनाहरूको खोजी गर्ने बताउनुभयो ।
कार्यक्रममा अकोरावका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामदायिक रेडियोमा दूरदराजका नागरिकको सहज पहुँच पुगेको स्मरण गर्दै आर्थिक सवाललाई थप उजागर गरि जीविकोपार्जनका उपायहरू खोजी गर्न सघाउने गरि काम गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस अघि नवनिर्वाचित आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीलाई सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, कार्यवाहक महासचिव भक्त स्याङतान, कोषाध्यक्ष तुला अधिकारी, निर्देशक शिरोमणि ढुङ्गानालगायतले पुष्प गुच्छा र मायाको चिनोसहित बधाई र शुभकामना दिनुभएको थियो ।



प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२