सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्व–पश्चिम हुलाकी सडकको काम अघि बढेको छ ।
निर्माण व्यवसायीको लापरवाही र सरकारी निकायको उदासिनताका कारण लामो समयदेखि अलपत्र यो सडक अन्तर्गत मलङ्गवा खण्डमा तत्काल कालोपत्रेको माग गर्दै स्थानीयवासीले हिजो सवारीसाधन आवतजावत ठप्प पारेका थिए ।
मलङ्गवास्थित पूर्व–पश्चिम हुलाकी सडक धुलो र हिलाम्मे हुने गरेको छ । जस कारण दैनिक आवत–जावतमा समस्या परेको भन्दै आक्रोशित स्थानीयवासीले हिजो नाराबाजी गर्दै मलङ्गवा बजार क्षेत्रको आवागमन केही घण्टासम्म अवरुद्ध भएको थियो ।
स्थानीय व्यवसायी रामदेव साहले निर्माण व्यवसायी कम्पनीले पटक–पटक कालोपत्रे गर्ने आश्वासन दिए पनि वर्षौदेखि सडक अलपत्र अवस्थामा छाडेको बताउनुभयो ।
स्थानीयवासीको खबरदारीपछि आज यो सडक खण्डमा निर्माण व्यवसायीले केही काम अघि बढाएका छन् । काम सम्पन्न नहुँदासम्म निरन्तर खबरदारी गर्ने त्यहाँका स्थानीयवासीको भनाइ छ।
मलंगवा हुँदै जाने पूर्व–पश्चिम हुलाकी राजमार्ग नेपालको दक्षिणी सीमाको मुख्य व्यापारिक मार्ग हो । तर, सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय, विद्यार्थी, सवारी चालक र पैदल यात्रुहरूले अत्यधिक सास्ती खेप्दै आएका छन् ।
विशेषगरि विद्यालय जाने बालबालिका र दुई पांग्रे सवारी चालकहरू धुलोका कारण स्वासप्रश्वाससम्बन्धी समस्या भोग्न बाध्य छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२