नवलपरासी । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज, नवलपरासीले १८ औँ वार्षिकोत्सव आज स्रोतासँग संवाद गरी मनाएको छ ।
रामग्राम नगरपालिका १४ प्रसावलमा स्रोता संवाद र ४ थान सिमेन्टको कुर्सी स्थापना गरी मनाइएको हो ।
रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
सो अवसरमा नगरप्रमुख धनपत यादवले सामुदायिक रेडियो परासीलाई जिल्लाबासीले माया गर्ने बताउनुभयो ।
उहाँले रेडियोले जिल्लाका विभिन्न क्षेत्र, भाषाभाषी, समुदाय, पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रको सम्भावना र चुनौतीहरूलाई उजागर गरेर सही र सत्य सूचना सम्प्रेषण गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. १४ का स्थानीय जनप्रतिनिधि, किसान, महिलाहरूको उपस्थिति रहेको थियो । स्रोतासँग संवाद कार्यक्रममा स्रोताहरुले स्थलगत रिपोर्टिङ्गलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
उनीहरूले रेडियो सामुदायिक भएकोले समुदायका सानासाना विषयवस्तुलाई पनि जोडदिन आग्रह गरेका हुन् ।
किसानलाई पिरमर्का पर्दा खेतखलियानमै रेडियो पुग्नु पर्ने धारणा सरोकारवालाको छ ।
स्थानीय भिमदेव भट्टराई, शोभादेवी चौधरी, प्रसुराम यादव, अल्गु पश्चिमाहा थारु र रामअचल लोधले सामुदायिक रेडियो परासीले समुदायस्तरका विषयवस्तुहरुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, रेडियोका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, प्रवन्ध निर्देशक मेघराज गौतम, सञ्चालक सदस्य श्रद्धासुमन आचार्य लगायतले रेडियो परासीको उन्नपत र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२