मुगु । कणर्ालीको हिमाली जिल्ला मुगुमा दसैँको मुखमा खाद्यान्न अभावको भएको छ ।
जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरूमा खाद्यन्न मौज्दात उचित मात्रामा नरहेपछि मुगुका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरू रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु भएको हो ।
जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपोकेन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा विक्री केन्द्रमा असार महिनादेखि रित्तै भएका हुन् ।
केन्द्रहरूमा ठेक्का प्रक्रियाको लागि टेण्डर प्रक्रिया भइरहेको र अहिले टेण्डर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ ।
केन्द्रबाट वितरण भइरहेको चामल हिजोआज सकिएपछि ती डिपो कार्यालय रित्तै भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी पुस्कर भामले बताउनुभयो ।
शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको भामको भनाइ छ ।
डिपो केन्द्रहरूमा चामल सकिएपछि र दसैँको शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राही दैनिक भीड लाग्ने गरेको बताउनुभयो ।
दसैँसम्म चामल पुग्छ कि पुग्दैन भन्ने चिन्ता मुगुबासीमा छ । अहिले दैनिक १ सय देखि २ सयसम्म सदरमुकाम लगायत टाढाटाढाबाट पनि आउने गरेको उहाँको भनाइ छ ।
उहाले भन्नु भयो, ‘सदरमुकाममा आवश्यकता अनुसार स्थानीयलाई पुपर्याउन सकिएको छैन ।’
संस्थानमा खाद्यान्न अभाव भएपछि बजारमा महङ्गो पैसा हालेर यहाँका नागरिकले उपभोग गरिरहेका छन् ।
पछिल्लो समय यहाँका स्थानीयले एक प्याक चामल २ हजार रुपैयाँदेखि २५ सयसम्म हालेर खाने गरेको छायानाथ रारा नगरपालिका वडा नं १० का राजकली विकले जानकारी दिनु भयो ।
शाखा कार्यालयमा चामल पनि प्रयाप्त नहुनु र डिपो केन्द्रहरू पनि रित्तिएपछि हिजोआज यहाँका स्थानीयहरू बजारको महङ्गो मूल्यको चामल खान बाध्य भएका छन् ।
स्थानीयले सहुलियत मूल्यको चामल पाएनन्
मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएका छैनन् । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दसैँ, तिहार लगायतका चाडपर्वको अवसर पारेर वितरण गर्दै आइरहेको सुपथ मूल्यको चामल नपाएका हुन ।
मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण नागरिकले चामल नपाएका हुन् । चामल वितरण गर्ने हो भने दुई दिनमै शाखा कार्यालयको चामल सकिने सूचना अधिकारी पुस्कर भामले बताउनुभयो ।
खाद्य सुरक्षा समितिको निणर्य अनुसार मुगुमा सहुलियत मूल्यको चामल अहिले नै वितरण नगरेर असोज महिनाको १५ देखि २० गतेभित्रको समयमा वितरण गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, १२:४७:००
खड्क सुनार रेडियो मुगुमा समाचार प्रमुख हुनुहुन्छ ।