काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीलाई प्रसारण क्षेत्रमा अनवरत सक्रिय र रेडियो अभियानको वकालतमा दिएको योगदानको मूल्याङ्कन गर्दै "लाइफ टाइम एचिभमेन्ट" अवार्ड प्रदान गरिएको छ ।
एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) ले अध्यक्ष गिरीलाई उक्त अवार्डले सम्मान गरेको हो ।
काठमाडौँमा जारी एआईबीडीको २४औँ साधारण सभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालामा अध्यक्ष गिरीलाई सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिना, एआईबीडीका महासचिव फिलोमिना प्रागसमले अर्वाड हस्तान्तरण गर्नुभएको हो ।
सामुदायिक रेडियोको स्थापना र रेडियोमार्फत समुदायलाई जोड्दै सूचना, अभिव्यक्ति स्वतन्त्रताका लागि उहाँले खेल्नुभएको भूमिका अनुकरणीय रहेको निष्कर्ष निकाल्दै एआईबीडीले अवार्ड प्रदान गरिएको जनाएको छ ।
गिरी रेडियो पत्रकारितामा दुई दशकभन्दा बढीदेखि सक्रिय हुनुहुन्छ ।
२०५८ सालमा रेडियो पत्रकारिता सुरु गर्नुभएका गिरी दाङको रेडियो तुलसीपुरमा स्टेशन म्यानेजर हुँदै सामुदायिक रेडियो अभियानमा संलग्न रहँदै आउनु भएको छ ।
हाल उहाँ देशभरका ३ सय ८० भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूको छाता सङ्गठन अकोराबको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएर भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
अकोराबको १८औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३