काठमाडौँ । नेपालमा हिमाल आरोहण, जङ्गल सफारी, पदयात्रा र धार्मिक स्थलको अवलोकनका लागि मुख्य रूपमा पर्यटक आउने गरेका छन् । पछिल्लो समय अग्ला डाँडामा रहेका धार्मिक पर्यटकीय स्थलहरूमा केबलकार सञ्चालन प्रतिस्पर्धा चल्न थालेको छ । सहज यात्रा र मनोरञ्जनमार्फत स्थानीय पर्यटनमा टेवा पुर्याउने लक्ष्यसहित निर्माण हुने केबलकारलगायत पूर्वाधार विकासका कामहरूमा विवाद पनि उत्तिकै हुने गरेका छ ।
ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर जान केबलकार निर्माण गर्ने निर्णय भएसँगै चार वर्ष यता पक्ष र विपक्षमा बहस चलिरहेको छ । स्थानीय रोजगारी सिर्जना, पर्यटकको सङ्ख्या बृद्धि, होटेल व्यवसाय लगायत आर्थिक विकास लगायतका लागि महत्त्वपूर्ण हुने भएकाले केबलकार निर्माण गर्नु विकासका दृष्टिले राम्रो भएको सङ्घीय तथा स्थानीय सरकार र निर्माण पक्षको दाबी छ । तर प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने र पहिचान जोगाउनुपर्ने आन्दोलनरत पक्षको माग छ ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी सरकारबाट अनुमति लिइसकेकाले जसरी पनि केबलकार बनाउने निर्माण कम्पनीको अडान छ । केबलकारको शिलान्यास गर्ने क्रममा गत शुक्रवार दुवै पक्षबिच ढुङ्गा मुढा नै भयो । प्रहरीले बल प्रयोग गर्नुपर्यो ।
ताप्लेजुङका श्री लिङ्खिम लिम्बु पाथीभरामा केबलकार बन्न नहुने पक्षमा हुनुहुन्छ, मन्दिर देवी शक्तिको केन्द्रमा रहेकाले यसलाई यथास्थितिमा राख्नु उहाँको बुझाई छ । तर ताप्लेजुङकै गमबहादुर लिम्बु भने पर्यटकको सङ्ख्या बढाउन र सबै पर्यटक सहज मन्दिर पुग्ने बनाउनका लागि भए पनि केबलकार आवश्यक छ भन्नुहुन्छ ।
नवलपुरको गैँडाकोटमा रहेको मौला कालिका मन्दिर वा गोरखाको मनकामना मन्दिरलाई उदाहरण मान्ने हो भने केबलकारको निर्माण पछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । यति मात्र होइन त्यससँगै ती क्षेत्रमा होटेल र अन्य व्यवसायमा पनि बढोत्तरी आएको छ । दुई वर्षअघि केबलकार निर्माण भएसँगै मौला कालिका पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । तर पूर्वाधारको विकास गर्दै गर्दा मौलिक संस्कृति पक्षलाई पनि ध्यान दिनुपर्ने बुझाई गैँडाकोटका केशव शर्माको छ ।
सरकारले पर्यटकको सङ्ख्या बढाउने लक्ष्य राख्दै गर्दा त्यसका लागि सडक सञ्जाल र केबलकार विस्तार आवश्यक रहेको, पर्यटन व्यवसायी योगेन्द्र शाक्यको भनाई छ । उहाँ भन्नुहुन्छ “नेपालमा पर्यटनको विकास पैदल यात्राबाट नै सुरु भएको र यसलाई त्यसै राख्नुपर्छ भन्ने मात्र हो भने बाटो पनि नबनाए हुन्छ, केबलकार पनि नचलाए हुन्छ तर स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढाउने हो भने यी सबै पुर्वाधार आवश्यक छन् ।”
तर पूर्वाधार विकास गर्दा सांस्कृतिक पक्षको संरक्षणमा भने ध्यान दिनुपर्ने, नवलपुर गैँडाकोटका केशवप्रसाद शर्मा बताउनुहुन्छ ।
नेपालमा हालसम्म ५ स्थानमा केबलकार सञ्चालनमा छन् भने, ५ वटा बन्ने क्रममा छन् । सयौँ धार्मिक र अन्य पर्यटकीय स्थल सडक सञ्जालमा जोडिएका छन् ।
नेपाल पछिल्लो समय हिमाल आरोहण, जङ्गल सफारी र पदयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सरकारले साना ठुला गरी एक सय ६० वटा पदयात्रा गर्न सकिने स्थानको पहिचान गरेको छ । तर सांस्कृतिक मूल्य मान्यता र महत्वमा खलल नपुग्ने गरी पूर्वाधारको विकास गर्न निर्देशन दिएको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउनुहुन्छ । स्थानीय तहलाई पर्यटकीय क्षेत्र प्रचार र विकासका लागि जथाभाबी पूर्वाधार नराख्न आग्रह पनि गरेको उहाँले बताउनुभयो ।
ओझेलमा परेका पर्यटकीय स्थललाई पूर्वाधारको विकासले उजागर गरे पनि सम्बन्धित क्षेत्रको ऐतिहासिक सांस्कृतिक र प्राकृतिक पक्षलाई जोगाई राख्न चुनौतीपूर्ण देखिएको वातावरणविद्हरूले बताउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१, १६:५५