काठमाडौँ । कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व गएको शनिबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने विश्वास गरिन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२