मुगु । लगातारको वर्षापछि मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा खसेको पहिरोमा परी एक ३ वर्षीय बालकको मृत्यु भएको छ ।
घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा होटल व्यवसाय सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा पेमा लामाको घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका ३ वर्षीय छोरा रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा जगनाथ बडुवाल, सृजना बडुवालसहित चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा क्षति बनाएको छ ।
वरपरका थप तीन घरमा पनि क्षति पुगेको छ भने अन्य आठ घर उच्च जोखिममा परेका छन् । पहिरोले गाउँपालिकाको कार्यालय, सरकारी अभिलेख र औषधि गोदाममा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभास चन्द्र रावलका अनुसार औषधि गोदाम, पुराना सरकारी अभिलेख, लेखापरीक्षण सम्पन्न भएर भण्डारण गरिएका श्रेस्ता तथा अन्य महत्वपूर्ण कागजात पहिरोसँगै बगेर कर्णाली नदीमा मिसिएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३