काठमाडौँ । सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको ३२ औँ गीति एल्बम काठमाडौँमा सार्वजनिक भएको छ ।
गीति एल्बम ‘उदास जवानी’ को आज एउटा कार्यक्रमका बीच संस्कृतिविद् तुलसी दिवस, चलचत्रि निर्देशक तथा वरिष्ठ गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम, वरिष्ठ गीतकार कालिप्रसाद रिजाल र सङ्गीतकार श्रेष्ठले सामूहिक रूपमा लोकार्पण गर्नुभयो ।
कार्यक्रममा शीर्ष गीत ‘उदास जिन्दगी’ र भ्रुण हत्या विरुद्धको गीत, ‘मै छोरीलाई, गर्भमा नै’ बोलको गीत प्रदर्शन गरिएको थियो ।
एल्बम लोकार्पण समारोहमा संस्कृतिविद् दिवसले यो एल्बममा नयाँ र पुरानो पुस्ताबीचको संयोजन, सल्लाह र सहकार्य गर्ने असल परम्पराको निरन्तरता भएको भन्दै गीतकार रिजाल र सङ्गीतकार श्रेष्ठलाई बधाई दिनुभयो । एल्बममा रहेका पाँचवटा गीत रिजालले लेख्नुभएको हो भने सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएको छ ।
कार्यक्रममा वरिष्ट सङ्गीतकार दीपक जङ्गमले बजारमा रहेका एकसय एल्बमबीच मूल्याङ्कन र प्रतिस्पर्धा गराउने हो भने श्रेष्ठको ३२ औँ एल्बमम ‘उदास जवानी’ उत्कृष्ट पाँचमा पर्ने बताउनुभयो ।
गीतकार रिजालका शब्दमा एल्बम निकाल्ने आफ्नो तयारी भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘रिजालका शब्दलाई समावेश गर्नु र पछिल्लो समयमा चर्चित युवा सङ्गीतकार श्रेष्ठले एकल सङ्गीत भर्नु ऐतिहासिक सुखद् संयोग हो ।’
चलचित्र निर्देशक खरेलले गीतकार रिजालले अहिलेसम्म पनि सक्रिय रहेको भन्दै उहाँको प्रशंसा गर्नुभयो । एउटा राम्रो गीत बन्नका लागि भिडियो महत्वपूर्ण हुने टिप्पणी गर्दै खरेलले नयाँ एल्बमका लागि दुबै श्रष्टालाई बधाई दिनुभयो ।
गीतकार रिजालले भने सुरुमा आफूले सन्तोष श्रेष्ठलाई विश्वास नगरेको सुनाउँदै, आफ्नो शब्दमा गीत रचना गरेपछि भने निकै प्रभावित भएको धारणा राख्नुभयो । आफूसँग गीतका लागि आउनेहरूलाई हतपत शब्द नदिने गरेको उहाँको भनाइ छ ।
‘सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा भने शब्दलाई न्याय गर्ने धर्म पाएको छु ।’ गीतकार श्रेष्ठले भन्नुभयो । आफू गायक हुन चाहे पनि कविहरूको माहोलमा उठबस भएकै कारण कविता र गीत लेखनमा लागेको पनि उहाँले उल्लेख गर्नुभयो ।
स्रोता, दर्शक र सहकार्य गर्ने व्यक्ति तथा संस्थाको सहयोगबाट नै यहाँसम्म आइपुगेको चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले अग्रज तथा अनुज पुस्तासँग काम गर्ने मौका पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो ।
३२ औँ एल्बम ल्याउनका लागि शब्द सहकार्य गरेकोमा गीतकार रिजाललाई धन्यवाद दिँदै श्रेष्ठले भन्नुभयो, ‘नेपाली गीतको इतिहासको मानकका रूपमा रहेका व्यक्तित्व रिजालले विश्वास गर्नुभयो, यसले मलाई ठूलो हौसला र प्रेरणा मिलेको छ ।’ श्रेष्ठले हालसम्म करिब सातसय गीतमा सङ्गीत भरीसक्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६, २०:१७