हुम्ला । १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागितामा सञ्चालित फुटबल प्रतियोगिता कर्णाली किड्स कप २०८३ दोस्रो संस्करण सुरु भएको छ ।
‘खेल स्थानिय, अभियान राष्ट्रिय’ भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता सुरु गरिएको हो ।
२० औँ लोकतन्त्र दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागिता रहेको रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनभुयो ।
अध्यक्ष महताराले आधारभूत तहका बालबालिकाको लागि आयोजना गरिएको यो फुटबल प्रतियोगिता नेपालमै पहिलो पटक २०८१ मा सुरु गरिएको र यो वर्ष दोस्रो संस्करण भएको दाबी गर्नुभयो ।
हुम्लाको अदानचुली गाउँपालिकामा सुरु गरिएको उक्त किड्स कप यही वैशाख ११ गतेसम्म संञ्चालन हुने भएको छ ।
‘गुणस्तरीय शिक्षा, खेलकुद लगायतका बहानामा कर्णालीका हिमाली जिल्लाबाट बालबालिकालाई विभिन्न सहरमा लैजानेक्रम बढ्न थालेका कारण चेतना प्रवाह गर्न दोस्रो पटक कर्णाली किड्स कप २०८३ को आयोजना हुम्लाबाटै गरेको महताराको भनाइ छ ।
कार्यक्रमको उद्धघाटन गर्दै अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले १२ वर्ष मुनिका बालबालिकालाई शुभकामना दिँदै सामाजिक विकास कार्यालयलाई बृहत खालको अदानचुली गाउँपालिकामा खेल मैदान निर्माणका लागि पहल गर्ने बताउनुभएको छ ।
सधै अदानचुली गाउँपालिका खेलकुदमा सहयोग गर्न तत्पर रहने उहाँले बताउनुभयो ।
कर्णाली किड्स कपमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा आयोजकले गरेको छ । द्वितीय स्थान प्राप्त गर्नेले २० हजार र तृतीय स्थान हासिल गर्नेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३